चाडपर्व नजिकिएसँगै गाडी विक्रेतालाई चटारो, यस्ता छन् नयाँ आउँदै गरेका मोडल

काठमाडौं । गाडी विक्रेता कम्पनीहरुलाई चाडपर्वको चटारो सुरु भएको छ । नेपालीहरुको ठूला चाडपर्व दशैं र तिहारको लागि ग्राहकलाई आकर्षित गर्न विक्रेता कम्पनीहरुले नयाँ मोडल ल्याउने र पुराना चल्तीका मोडल अर्डर गर्ने सयम यही हो ।

बजारमा कति गाडी विक्री हुन्छ ? कति स्टकमा राख्ने ? कति यूनिट अर्डर हाल्ने ? भन्ने विषयमा विक्रेता कम्पनीहरु आन्तरिक तयारीमा जुट्ने महिनाको रुपमा साउनलाई लिने गरिन्छ ।

हरेक वर्ष जस्तै हुन्डाई, मारुती सुजुकी, फोर्ड, टाटा, निसान/डाट्सन, रेनो, किया जस्ता कम्पनीहरु नयाँ मोडलसँगै दशैं स्कीममा पनि केन्द्रित भएका छन् । ग्राहक लोभ्याउने स्कीम संचालन गर्ने र आफ्नो बजार हिस्सा बढाउने योजना सहित यी कम्पनीहरुले चाडपर्वको समयलाई लिदै आएका छन् ।

महिन्द्रा र जीप जस्ता कम्पनीले कुनै स्कीम संचालन गर्दैनन् । तर, भारतमा उत्पादन भएका कम्प्याक्ट एसयूभी नेपाली बजारमा उतार्न लागेको स्कोडा, फक्सवागन र नयाँ आएको ग्रेटवाल मोटर्सले यस वर्ष ग्राहक लक्षित राम्रो स्कीम ल्याउने अनुमान गर्न सकिन्छ ।

दशैंमा गाडी किन्नेलाई यी हुन् नयाँ मोडल

दोस्रो लहरको निषेधाज्ञा खुकुलो भएसँगै बजारमा आएका गाडी यस वर्षको चाडपर्वमा मुख्य आकर्षण हुने देखिएको छ । विशेषत सब फोर मिटर एसयूभी र कम्प्याक्ट एसयूभी सेग्मेन्ट नै यस वर्ष बलियो प्रतिस्पर्धा हुने सेग्मेन्टमा पर्छ ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा यसअघि विक्री हुँदै आएको हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्सको अलावा हावल जोलाइन, स्कोडा कुशक र फक्सवागन टाइगुन यो सेग्मेन्टमा थपिने छन् ।

त्यसैगरी सब फोर मिटर सेग्मेन्टमा रेनो काइगर र निसान म्याग्नाइट ग्राहकले छनोटको रुपमा पाउने छन् । यो सेग्मेन्टमा मारुती सुजुकी भिटारा ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३००, किया सोनेट, फोर्ड इकोस्पोर्ट जस्ता मोडल पहिल्यै देखि उपलब्ध रहेका छन् । महिन्द्रा थार यो सेगमेन्टमा नयाँ तत्काल आउन सक्ने मोडल हो ।

ह्याचव्याक सेगमेन्टमा तत्काल आउने नयाँ गाडी छैन । यो सेग्मेन्टमा हुन्डाई ग्राण्ड आई १० नियोस, मारुती सुजुकी स्वीफ्ट, टाटा टियागो जस्ता पुरानै मोडलका गाडी ग्राहकले छान्नु पर्ने हुन्छ । इन्ट्री लेवल ह्याचव्याकमा रेनो क्वीड, हुन्डाई सेन्ट्रो, सुजुकी सेलेरियो, डाट्सन रेडी गो जस्ता मोडल उपलब्ध रहने छन् ।

प्रिमियम ह्याचव्याक सेग्मेन्टमा हुन्डाईको नयाँ जेनेरेशन आई २० ग्राहकले पाउने छन् । साथै, मारुती सुजुकी बलेनो, फक्सवागन पोलो र टाटा अल्ट्रोज मध्ये छानेर ग्राहकले किन्न सक्ने छन् ।

७० देखि ९० लाखसम्म खर्च गरेर एसयूभी किन्ने योजना बनाएका ग्राहकले एमजी एचएस, प्रोटोन एक्स ७०, टोयोटा रस, हुन्डाई टुसान, किया स्पोर्टेज, जीप कम्पास, डिएफएसके ग्लोरी आई अटो, टाटा एच फाइभ जस्ता मोडल खरिद गर्न सक्ने छन् ।

धेरै रकम खर्च गरेर गाडी किन्न चाहने ग्राहकलाई जीपका र्याङलर र ग्राण्ड चेरोकी, हुन्डाई प्यालिसेड र सान्ता फे, बीएमडब्लू एक्स थ्री र एक्स ५, स्कोडा कोडियाक, टोयोटा फर्च्युनर र ल्याण्डक्रुजर, पजेरो स्पोर्टस् जस्ता मोडल रहेका छन् ।

इलेक्ट्रीक कारमा छनोट बढ्दै

सरकारले विद्युतीय गाडीमा लगाएको कर घटाएसँगै विद्युतीय कारमा छनोट बढ्ने देखिएको छ । हुन्डाई, किया, एमजी, वीवाइडी, टाटा, डेरी, दिगो, हुवावे, साइटेक जस्ता कम्पनीले ल्याएका इलेक्ट्रीक कार अहिले बजारमा उपलब्ध रहेका छन् ।

ग्राहकले १८ लाखदेखि ७१ लाख रुपैयाँसम्ममा यी ब्राण्डका इलेक्ट्रीक कार नेपाली बजारमा खरिद गर्न सक्ने छन् ।


Back_to_top