काठमाडौं । डिजेल र पेट्रोलबाट चल्ने सवारीले प्रदूषण गर्ने भएकाले अबको समय विद्युतीय सवारीको हुने छ । वा भनौं फोसिल फ्युलबाट चल्ने सवारीको विकल्पको खोजी संसारभर भइरहेको छ ।
तर, अहिले तुलनात्मक रुपमा विद्युतीय सवारी केही महंगो रहेपनि विद्युतीय स्कुटर भने त्यति धेरै महंगो देखिँदैनन् । यहाँ भारतीय बजारमा २०१८ मा सार्वजनिक भएका ५ उत्कृष्ट स्कुटरको चर्चा गरिएको छ ।
अथर एस ३४०

अथर स्कुटर बैंगलुरु स्थित स्टार्टअप कम्पनीले बनाएको हो । यो स्कुटर एक पटक चार्ज गर्दा ६० किलोमिटर कुद्छ । अथर एस ३४० को उच्च गती ७२ किलोमिटर प्रतिघण्टासम्म रहेको कम्पनीले जनाएको छ । यो स्कुटरमा टचस्क्रिन डिस्प्ले, लिथियम आयोन ब्याट्री जस्ता विशेषता छन् । ब्याट्रीको लाइफ ५० हजार किलोमिटर र १ घण्टामा ८० प्रतिशत चार्ज हुने रहेको छ ।
एम्पियर भी४८

एम्पियरभी ४८ कोइमबाटोर वेस्ड विद्युतीय सवारी उत्पादक कम्पनी हो । यो वर्ष कम्पनीले भारतमा ‘एम्पियर भी४८’ र लि–लिओन सार्वजनिक गरेको हो । एम्पियर भी ४८ भारतीय बजारमा ३८ हजार भारुमै उपलब्ध छ । यो स्कुटर प्रतिघण्टा अधिकतम २५ किलोमिटर कुद्न सक्छ । एक पटकको चार्जमा ६५ देखि ७० किलोमिटरसम्म कुद्ने कम्पनीले जनाएको छ ।
टीभीएस क्रियन

टीभीएस क्रियन स्कुटरले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गती ५.१ सेकेन्डमै तय गर्न सक्छ । एक घण्टामा ८० प्रतिशत चार्ज हुने यो स्कुटरमा विभिन्न विशेषताहरु रहेका छन् । यो स्कुटरमा ३ राइडिङ मोडसमेत रहेको छ । एन्टि थेप्ट फिचर, जीपीएस नेभिगेसन पनि यो स्कुटरको मुख्य फिचर हो ।
ओकिनावा राइज प्लस

ओकिनावा राइज प्लस विद्युतीय स्कुटर ओकिनावा अटो टेक कम्पनीले बनाएको हो । यो स्कुटरको भारतीय बजार मूल्य ६४ हजार ९ सय ८८ भारु रहेको छ । एक पटक चार्ज गर्दा यो स्कुटर १ सय २० किलोमिटर कुद्छ । यसको टप स्पिड ५५ किलोमिटर प्रतिघण्टा रहेको छ ।
होन्डा पीसीएक्स

होन्डाले यो स्कुटर २०१८ को अटो एक्सपोमा सार्वजनिक गरेको हो । यो स्कुटरमा लिथियम आयोन व्याट्री रहेको छ । यो स्कुटरमा प्रयोग भएको प्रविधि निक्कै आधुनिक भएको दाबी कम्पनीले गरेको छ ।
अन्य स्कुटरमा प्रयोग भएको ब्याट्रीको तुलनामा होन्डा पीसीएक्समा प्रयोग भएको व्याट्री लामो समय टिक्ने र छिटो चार्ज हुने कम्पनीको भनाइ छ । तर कम्पनीले यसको पूर्ण विवरण भने सार्वजनिक गरेको छैन । २०१९ सम्ममा बजारमा आउने यो स्कुटरको मूल्य ८० हजारदेखि १ लाख भारुसम्म पर्ने अनुमान गरिएको छ ।

