काठमाडौं । नाडा अटो शो २०१९ आउन १ महिनाभन्दा कम सयम बाँकी छ । सवारी आयातकर्ता कम्पनीहरु अटो शोको तिब्र तयारीमा जुटेका छन् । नयाँ सवारी ल्याउनेदेखि विभिन्न स्किमसम्म अटो शोमा सार्वजनिक हुने छन् ।
नाडा अटो शो २०१९ मा सहभागी हुने कम्पनीहरुले राख्ने नयाँ उत्पादन तथा अटो शोको आकर्षणका बारेमा हामीले जानकारी दिने प्रयास गरेका छौं । यहाँ नाडामा सहभागी हुने कम्पनी मध्येको एक फोर्डको मोडल तथा विशेषता बारे उल्लेख छ ।
फोर्डको नेपालका लागि अधिकारिक बिक्रेता गोल्छा अर्गनाइजेशन अन्तर्गतको जीओ फोर्डले यो वर्षको अटो शोमा इकोस्पोर्टको थन्डर मोडल सार्वजनिक गर्दै छ । नेपाली बजारमा फोर्ड इकोस्पोर्ट कम्प्याक्ट एसयूभी सेगमेन्टमा निक्कै लोकप्रिय एसयूभी हो ।
फोर्डले यो वर्षको अटो शोमा इकोस्पोर्टको नयाँ थन्डर भेरियन्ट तथा रेन्जरको हाइइन्ड भेरियन्ट प्रदर्शनीका लागि राख्ने योजना बनाएको जीओ फोर्डका जनरल म्यानेजर सुनिल क्षेत्रीले जानकारी दिए ।
‘इकोस्पोर्टको थन्डर भेरियन्ट र रेन्जरको हाइइन्ड भेरियन्ट नयाँ हुनेछन्,’ क्षेत्रीले मेरोअटोसँग भने, ‘फोर्डले केही महिनाअघि बजारमा ल्याएको फिगोका साथै इन्डेभर, रेञ्जर, अस्पायर पनि अटो शोमा राखिने छ ।’
विदेशमा हुने अटो शोमा सवारी उत्पादक कम्पनीहरुले नयाँ नयाँ मोडल तथा कन्सेप्ट कारहरु समेत राख्ने गरेका छन् । तर नेपालका भने नयाँ मोडल देखाउने तथा बिक्री गर्ने उद्देश्यले ल्याइने गरेको क्षेत्रीले बताए ।
नेपालमा अटो शो बिक्री मेलाको रुपमा रहने गरेको छ । ‘नाडा अटो शोलाई सेल्सको हिसाबले हेरिन्छ । अफरहरु ल्याउँछौं,’ उनले भने, ‘नयाँ मोडल पनि हुने भएकाले उपभोक्ताहरुलाई विभिन्न स्किमबाट आकर्षित गर्ने हो ।’
कम्पनीले उत्पादन गरेका नयाँ नयाँ मोडल नेपाल ल्याउने पनि गरिन्छ अटो शोमा । दसैंको मुखमा आयोजना हुने भएकाले उपभोक्ताहरु पनि नयाँ सवारी किनौं भन्ने मुडमा हुन्छन् । सवारी बिक्रेताहरु पनि कसरी आफ्नो सवारी धेरै बिक्री गर्न सकिन्छ भन्नेमै केन्द्रीत हुने गरेको क्षेत्रीको भनाई छ ।
सवारी बिक्रेताहरुको संस्था नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष नाडा अटो शो गर्दै आएको छ । अटो शोले सवारी बिक्रेता तथा उपभोक्तालाई जोड्ने भएकाले अटो शो सबै हिसाबले उपयोगी हुने गरेको छ । सवारी बिक्रेताहरुले यसलाई अवसरको रुपमा लिने गरेको क्षेत्रीले बताए ।


