काठमाडौं । विद्युतीय कारको चर्चासँगै पेट्रोलियम पदार्थबाट चल्ने कारहरु छाँयाँमा पर्दै आएका छन् । सन् २०२१ सम्म विद्युतीय कारको हिस्सा नगन्य रहेको हाम्रो बजारमा सन् २०२२ बाट विद्युतीय कारले रफ्तार समातेको हो । अहिले पेट्रोलियम पदार्थबाट चल्ने कारको चर्चा नै कम हुन थालेको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनाको आयात तथ्यांक अनुसार पेट्रोलियम पदार्थबाट चल्ने कारको बजार हिस्सा ३० प्रतिशत माथि छ । त्यसो हुनुमा पेट्रोलियम पदार्थबाट चल्ने कार लामो यात्रा गर्ने र पहाडी बाटोमा धेरै हिड्नु पर्ने मानिसले खरिद गरिरहेका छन् ।
विद्युतीय कारमा आकर्षण बढेसँगै बिक्रेताहरुको रोजाइमा पनि ईभी नै पर्न थाल्यो । उपभोक्ता जस्तै डिलर बनेर गाडी बेच्दै आएकाहरु पनि पेट्रोल छाडेर ईभीमा आकर्षित भएको पाइयो । त्यहि कारण पेट्रोल कार बिक्री गर्ने धेरै ब्राण्डका शोरुमहरु ईभीमा बदलिय । यसका बाबजुद हुन्डाई, महिन्द्रा र सुजुकीले पेट्रोलियम पदार्थबाट चल्ने कारको बिक्रीलाई नै प्रमुख बनाइरहेका छन् ।
अहिले बजारमा हुन्डाई क्रेटा र भेन्यू, सुजुकी ब्रेजा, महिन्द्रा स्कर्पियो र किया सोनेट जस्ता मोडल सर्वाधिक बिक्री हुने पेट्रोलियम इन्जिन भएका गाडीमा पर्छन् । जबकी हुन्डाई आई १० नियोस, सुजुकी जिम्नी पनि राम्रै संख्यामा आयात भएका छन् ।
हुन्डाई क्रेटाः चालु आर्थिक वर्षको सुरुवात (साउन)मै नेपाल आएको हुन्डाई क्रेटा फेसलिफ्ट अहिले राम्रो संख्यामा बिक्री हुँदै आएको छ । चाडपर्वको सिजनमा ३०० युनिट बढी बिक्री भएको क्रेटा अहिले पनि धेरैले बुकिङ गरेर कुरिरहेको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ ।

पावरफुल १.५ लिटर इन्जिन, बल्की डिजाइन र स्पोर्टी लुक्सको कारण क्रेटा सधै सफल मोडल हो । सन् २०१५ देखि नेपाली बजारमा उपलब्ध क्रेटा पेट्रोल कारमा अहिले पनि सबैभन्दा धेरै बिक्री हुने मोडल हो ।
विभिन्न ६ भेरियन्टमा उपलब्ध हुन्डाई क्रेटाको मूल्य ५६ लाख ९६ हजारदेखि ८६ लाख ९६ हजार रुपैयाँसम्म तोकेर बिक्री हुँदै आएको छ ।
सुजुकी ब्रेजाः सिजी मोटोकर्पले बिक्री गर्दै आएको ब्रेजा नेपालमा सर्वाधिक सफल सब फोर मिटर एसयूभी हो । सन् २०१७ मा पहिलो पटक आएदेखि नै यसको बिक्री निकै राम्रो छ ।

ब्रेजामा सुजुकीले १.५ लिटर क्षमताको पेट्रोल इन्जिन दिएको छ । निकै बल्की लुक्सको कारण सेग्मेन्टमै सबैभन्दा ठूलोदेखिने ब्रेजा पर्फर्मेन्सको कारण धेरैले मनपराएको मोडल हो । अहिले क्रेटापछि सबैभन्दा धेरै आयात र बिक्री हुने मोडलमा ब्रेजा पर्छ ।
सुजुकी ब्रेजा अहिले विभिन्न ११ भेरियन्टमा उपलब्ध रहेको छ । जसमा इन्ट्री भेरियन्ट एलएक्सआईको मूल्य ४६ लाख ४९ हजारदेखि टप भेरियन्टमा अटोमोटीक ब्रेजा जेडएक्सआई प्लसको मूल्य ६५ लाख २९ हजार रुपैयाँसम्म तोकेर बिक्री हुँदै आएको छ ।
स्कर्पियो एनः महिन्द्रा स्कर्पियो एनले पनि निकै राम्रो बजार पाइरहेको छ । डिजेल इन्जिनमा उपलब्ध स्कर्पियो एन फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध मोडल हो । नेपालको जस्तो सुकै बाटोमा आफ्नो उच्च पर्फर्मेन्सले गर्दै आएको स्कर्पियो नेपालमा चर्चित मोडल हो ।

पहाडी सडकको यात्रा होस् वा एड्भेन्चर यात्रामा जान प्रयोग हुने सवारी साधन होस् सबैले सबैभन्दा पहिला यसकै नाम लिँदै आएका छन् ।
महिन्द्राको २.० लिटर एमहक इन्जिन प्रयोग भएको स्कर्पियो एन ठूला गाडी रोज्नेको छनोटमा पनि पर्ने भएको कारण यसको बिक्री राम्रो संख्यामा हुँदै आएको छ । स्कर्पियो एनको मूल्य ८२ लाख ६० हजारदेखि १ करोड २५ लाख ६५ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।
हुन्डाई भेन्यूः लक्ष्मी मोटरले नेपालमै एसेम्बल गरेको हुन्डाई भेन्यू ‘मेड इन नेपाल’ नारासहि गत जेठबाट बिक्री सुरु भएको हो । नेपालमै एसेम्बल भएको कारण यसको मूल्य पनि झण्डै ५ लाख रुपैयाँले कम भएको आधिकारीक बिक्रेताको भनाई छ ।

निकै किफायती १.२ लिटर क्षमताको इन्जिनमा उपलब्ध भेन्यू सब फोर मिटर एसयूभी हो । बजारमा साना एसयूभी खोज्नेको रोजाइमा पर्दै आएको भेन्यू पनि सफल पेट्रोल मोडल हो । भेन्यूको मूल्य ४० लाख ९६ हजारदेखि ५८ लाख ९६ हजार रुपैयाँसम्म तोकिएको छ ।


