४० देखि ५० लाखको इलेक्ट्रीक कार खोज्नेलाई छनोट नै कम

काठमाडौं । बजारमा ४० लाखदेखि ५० लाख मूल्यमा किन्न पाइने इलेक्ट्रीक कारको संख्या एकदमै थोरै मात्रै छ । यो सेग्मेन्टमा केही एसयूभी र केही ह्याचव्याक कार मात्रै किन्न सकिन्छ ।

बीवाइडी डल्फीन, एमजी फोर र जेडएस, सेरेस–थ्री, केई एक्सथ्री प्रो जस्ता सिमित मोडल मात्रै यो सेग्मेन्टमा उपलब्ध छ । बीवाइडी डल्फीन यो रेन्जको मूल्यमा सर्वाधिक बिक्री हुने मोडल हो । डल्फीन ह्याचव्याकको मूल्य ४१ लाख १५ हजार रुपैयाँ छ ।

मोरिस ग्यारेज (एमजी)का उत्पादन एमजी जेडएस र एमजी फोर पनि ५० लाखभन्दा कममा किन्न पाइन्छ । एमजी फोरको स्टायण्डर्ड भेरियन्ट ४१ लाख ४९ हजारबाटै खरिद गर्न सकिन्छ । यसको टप भेरियन्ट ४९ लाख ९९ हजार पर्छ । यो रेन्ज र ब्याट्री क्षमताका आधारमा सेग्मेन्टकै सानदार ह्याचव्याक हो ।

एमजी जेडएस ईभी पनि नेपालको सर्वाधिक सफल मोडल हो । ५० लाखदेखि ५२ लाखसम्म मूल्य तोकेर विगतमा बिक्री हुँदै आएको जेडएस ईभीको अधिकतम खुद्रा बिक्री मूल्य घटेको छैन । तर, ५० लाखभन्दा कममा यसलाई किन्न चाहनेले पाउने अवस्था छ ।

सेरेस-थ्री पनि नेपाल आएको छोटो समयमा नै राम्रो संख्यामा बिक्री भएको मोडल हो । यसको पनि अधिकतम खुद्रा विक्री मूल्य ५२ लाख ९९ हजार मूल्य तोकेर बिक्री हुँदै आएको छ । नाडा अटो शोदेखि कम्पनीले सेरेस–थ्रीमा राम्रो डिस्काउन्ट दिएर ४८ लाख रुपैयाँसम्ममा नै बिक्री गर्दै आएको हो । ५० लाखभन्दा कम मूल्यमा किन्न पाइने ठूलो एसयूभीको रुपमा यसलाई लिन सकिन्छ ।

नाडा अटो शो २०२४ बाट नेपाली बजारमा प्रबेश गरेको केई एक्सथ्री प्रो मोडल पनि अहिले सडकमा देखिन थालेको छ । यसको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री भइरहेको छ ।


Back_to_top