३० लाखभन्दा सस्तोमा पाइने ४ उत्कृष्ट ईभी, यस्तो छ मूल्य र रेन्ज

काठमाडौं । नेपाल खासमा बजेट कारको लागि उपयुक्त बजार रहेन । यहाँ एसयूभी जस्तो लाग्ने र देखिने गाडी खोज्नेहरु धेरै भेटिन्छन् । त्यसो हुनुमा विश्वब्यापी एसयूभीको बढ्दो क्रेज र नेपालको खाल्डाखुल्डी भएका बाटो प्रमुख कारण हुन सक्छन् ।

अहिले हाम्रो बजारमा केई, एमजी, टाटा, लीपमोटर, बीवाइडी लगायतका ब्राण्डले कम मूल्यमा उत्कृष्ट फिचर भएका गाडी बिक्री गर्दै आएका छन् । कम बजेटमा राम्रो गाडी अफर गर्ने यी ब्राण्डले बिक्री गर्ने फ्यामली ह्याचव्याक कारको विषयमा हामीले यहाँ चर्चा गर्न लागेका हौं ।

अहिले मिनी कारको रुपमा सेरेस, एमजी, विलिङ लगायत ब्राण्डका उत्पादन पनि बजारमा छन् । तर, हामीले यहाँ कम्प्याक्ट ह्याचव्याक कारको विषयमा चर्चा गर्न लागेका हौं ।

कम्प्याक्ट ह्याचव्याक सेग्मेन्टमा उपलब्ध केई इक्यूट-०४, लीपमोटर टी-०३, टाटा टियागो ईभी र बीवाइडी एटो वानका विषयमा हामीले यहाँ जानकारी प्रस्तुत गरेका छौं ।

१. इक्यूट-०४

केईको इक्यूट ०४ मोडलको मूल्य २५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । निकै आकर्षक डिजाइनमा तयार भएको इक्यूटलाई चेरी मोटर्सले पनि आफ्नो ब्राण्डमा ल्याउँदैछ । उसोत केई ब्राण्डमा पनि चेरीको लगानी छ ।

केईले इक्यूटमा २८.०८ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । फास्ट चार्जर पनि सपोर्ट गर्ने क्यूट कारले सिंगल चार्जमा २५० किलोमिटर हाराहारी रेन्ज प्रदान गर्छ । यसमा ४० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर जडान भएको छ ।

२. टाटा टियागो ईभी

टाटा टियागो ईभी नेपालमा सर्वाधिक सफल इलेक्ट्रीक ह्याचव्याक कार हो । कम्प्याक्ट साइज, आकर्षक डिजाइन र पावरफुल इन्टेरियर उपलब्ध टियागो ईभीको मूल्य २७ लाख ४९ हजार रुपैयाँ छ ।

सिप्रदी ट्रेडिङले २ हजार युनिटभन्दा बढी बिक्री गरिसकेको टियागो ईभीमा २४ किलोवाट आवरको ब्याट्री र ४८ किलोवाटको मोटर जडान भएको छ । यसले सिंगल चार्जमा २०० किलोमिटर रेन्ज दिने अनुमान गर्न सकिन्छ । यसको टप भेरियन्ट किन्नेले २९ लाख ९९ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

३. बीवाइडी एटो वान

कम्प्याक्ट ह्याचव्याक कार सेग्मेन्टमा भर्खरै नेपाल आएको एटो वानले आउने वित्तिकै धेरैको ध्यान खिचेको छ । इन्ट्री भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ तोकेर यसको बिक्री सुरु भएको हो ।

बीवाइडीले यसमा ३० किलोवाट आवरको ब्याट्री दिएको छ । जसको डब्लूएलटीपी रेन्ज २३० किलोमिटर रहेको छ । यसले पनि डिसी फास्ट चार्जर सपोर्ट गर्नेछ । यसमा मोटर भने ४५ किलोवाट क्षमताको छ ।

४. लीपमोटर टी-०३

साँग्रिला मोटर्सले लीपमोटरको दोस्रो प्रोडक्टको रुपमा नेपाल ल्याएको टी-०३ प्राक्टिकल कार हो । यसको रेन्ज, फिचर र बडी डिजाइन निकै स्मार्ट छ । कम्पनीले यसको अफर मूल्य भनेर २७ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

टी-०३ ह्याचव्याक कारमा ३७.३ किलोवाट आवरको ब्याट्री दिइएको छ । उक्त ब्याट्रीको रेन्ज पनि डब्लूएलटीपीले उत्कृष्ट रहेको जनाएको छ । परीक्षण रिपोर्ट अनुसार टी-०३ ले सिंगल चार्जमा २६५ किलोमिटर रेन्ज दिने देखाएको छ ।


Back_to_top