नारायणघाट-बुटवल सडक अब २ महिना एकतर्फी मात्रै संचालन हुने

काठमाडौं । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट-बुटबल सडकखण्डमा अब झण्डै २ महिनासम्म एकतर्फी रूपमा मात्रै संचालन हुने भएको छ ।

नारायणघाट-बुटबल सडक आयोजनाले सोमबार एक सूचना जारी गर्दै दाउन्ने क्षेत्रमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले कम्तीमा पुस १५ गतेसम्म सडक एकतर्फी मात्र संचाल हुने जानकारी गराएको हो ।

केहीदिन अघि परेको वर्षाका कारण नारायणघाट-बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा सडक चिप्लो भई यातायात आवागमनमा कठिनाई भइरहेको छ । आज सवारीको १० किलोमिटर लामोसम्म लाइन भएको थियो ।

आगामी दिनहरूमा पुनः वर्षात् भएमा थप समस्या हुने भन्दै आयोजनाले आगामी पुस १५ गतेसम्म सडक एकतर्फी मात्रै संचालन हुने जनाएको छ ।

यो अवधिमा कलभर्टहरू निर्माणाधीन भई एकतर्फी सडक संचालन भइरहेको स्थानमा सवारी साधनहरू संचालनमा थप कठिनाई हुने सम्भावना रहेको आयोजनाले जनाएको छ । त्यसैले उक्त कल्भर्टहरूको निर्माण कार्य सम्पन्न नहुन्जेलसम्म सडक पूर्ण रूपमा संचालन नहुने भएकाे हो ।

सडक आयोजनाले दाउन्नेको वैकल्पिक मार्ग प्रयोग गर्न समेत सबैमा आग्रह गरेको छ । उक्त राजमार्ग हुँदै यात्रा गर्दा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दुम्किवाससँग समन्वय गर्न पनि अनुरोध गरेको छ ।


Back_to_top