काठमाडौं । भदौं ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२४ मा ६ सेकेन्डमै फुल चार्ज हुने ब्याट्री प्रयोग टेक्नोलोजी प्रर्दशन हुने भएको छ । ताइवानी कम्पनी गोगोरेले तयार पारेको ब्याट्री स्वापिङ टेक्नोलोजीका साथै तीन नयाँ स्कुटरसमेत अटो शोमा प्रर्दशनी हुने भएको हो ।
विश्व चर्चित ब्याट्री निर्माता कम्पनीले गोगोरेले निर्माण गरेको ब्याट्री स्वापिङ स्टेशनमा ६ सेकेन्डमा नै फुल चार्ज भएको ब्याट्री आफ्नो चार्ज नभएको ब्याट्रीसँग साट्न सकिने छ ।
गोगोरो नेपाल ल्याएको नेवुला इनर्जीले नेपालमा अहिले रहेको चार्जिङ तथा स्कुटर चालकमा हुने रेन्ज एन्जाइटीलाई मध्यनजर गर्दै पेट्रोल हाल्दा लाग्ने समयभन्दा पनि छिटो समयमा नै फुल चार्ज भएको ब्याट्री विना झण्झट स्वाप गर्न सकिने स्वाप स्टेशन प्रर्दशनी गर्ने भएको हो ।
४५ स्थानमा ब्याट्री स्टेशन
गोगोरो एक प्रतिष्ठित ताइवानी कम्पनी हो । यसले आफ्नै प्यारामिटरहरू बनाएर काम गर्दै आएको छ । हालै मात्र नेपाल भित्रिएको गोगोरोले काठमाडौं भित्र ४५ वटा ब्याट्री स्वाप स्टेशन निर्माणको काम सुरू गरिसकेको कम्पनीले बताएको छ ।
दशै अघिसम्ममा यी स्वाप स्टेशन तयार हुने कम्पनीको भनाइ छ । हाल काठमाडौंका दुई स्थानमा परिक्षण समेत भइरहेको कम्पनीले जानकारी दियो ।
ब्याट्री बिनाको स्कुटर बिक्री गर्ने भएका कारण पहिला नै स्वाप स्टेशन निर्माण अनिवार्य सर्त बनेको हो ।
अत्याधुनिक एआईसहितको प्रविधि
गोगोरोले स्वाप स्टेशनमा अत्याधुनिक एआईसहितको स्टेशन निर्माण गर्दै आएको छ । उक्त स्वाप स्टेशनले चालकको फ्लो हेरेर ब्यस्त हुने समयमा ब्याट्रीलाई फास्ट चार्ज गर्छ । अन्य रेगुलर समयमा स्लो चार्ज गर्छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि विना शुल्क ब्याट्री स्वाप गर्न सक्नेछन् ।
ग्राहकले चार्ज भएको ब्याट्री लिएर स्कुटरमा राख्दा उक्त ब्याट्री र स्कुटर ‘सिंक्रोनाइज’ हुन्छ । यसले ग्राहकले प्रयोग गरेको ब्याट्री प्रतिशतको आधारमा ब्यालेन्स काट्ने काम गर्छ ।
तीन नयाँ स्कुटर प्रदर्शन गरिने
नेवुला इनर्जीका अनुसार नाडा अटो शोमा कम्पनीले तीन मोडलका स्कुटर प्रर्दशनी गर्ने भएको छ । कम्पनीले प्रिमियम, मास र बीटूबी प्रपोजको स्कुटर प्रर्दशनी गर्ने भएको हो ।
कम्पनीले प्रिमियम स्कुटर गोगोरो पल्स, मास स्कुटर जेगो र बीटूबी स्कुटर जीएक्स २५० प्रर्दशन गर्नेछ । जीएक्स २५० केही समय अगाडि नेपाली बजारमा सार्वजनिक भएको मोडल हो ।

