काठमाडौं । नेपाली बजारमा १२५ सीसी कम्युटर सेग्मेन्टमा हिरो सुपर स्प्लेण्डर एक्सटीईसी मोटरसाइकल उत्कृष्ट विकल्प बन्दै गएको छ ।
राम्रो माइलेज, आधुनिक फिचर र मूल्यका कारण सुपर स्प्लेण्डर एक्सटीइसी १२५ कम्युटर मोटरसाइकल खोज्ने ग्राहकको रोजाइमा पर्न थालेको हो ।
नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक वितरक सीजी मोटर्सले यो मोडललाई बीएस ६ एफआई इन्जिनमा ल्याएसँगै झनै आकर्षण बढाएको छ ।
कम्पनीले बीएस ६ भेरियन्टको मूल्य २ लाख ६६ हजार ९०० रुपैयाँ तोकेको छ । पुरानो भेरियन्ट बीएस फोर सुपर स्प्लेण्डरको मूल्य नयाँभन्दा १० हजार कम अर्थात् २ लाख ५६ हजार ९०० रुपैयाँ रहेको छ ।
स्प्लेण्डर मोडल हिरोको निकै चर्चित मोडल हो । भारतमा अहिले पनि हिरोको स्प्लेण्डर मोडल धेरै बिक्री हुने मोटरसाइकलको पहिलो स्थानमा पर्छ । नेपाल आएको सुरुवाती वर्षदेखि नै चर्चामा छ ।
स्प्लेण्डरमा १२४.७ सीसीको सिंगल सिलिण्डर, एयर कुल्ड, एफआई, बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम १०.७ पीएस पावर र १०.६ एनएमको टर्क जेनेरेट गर्छ। यसमा ५ स्पिडको गियरबक्स छ ।

सुपर स्प्लेण्डर क्सटीइसीमा एलईडी हेडल्याम्प र डीआरएल छ भने यसको इन्डिकेटर र टेल ल्याम्पमा हेलोजन बल्ब प्रयोग गरिएको छ ।
यसमा ट्युबलर डबल क्रेडल फ्रेम, हेडल्याम्प काउल, भाइजर, ब्लूटुथ कनेक्टिभिटी सहितको डिजिटल स्पीडोमिटर, कल र एसएमएस अलर्ट, रियल टाइम माइलेज, आइथ्रीएस सिस्टम, साइड स्ट्यान्ड इन्डिकेटर, टेलिस्कोपिक हाइड्रोलिक सक अब्जर्बार, ड्रमब्रेक, अलोय ह्वील, हाई बिम स्टेटस, इन्धन स्तर सूचक र चार्जिङ पोर्ट जस्ता फिचरहरू छन् ।
हिरोको स्प्लेण्डर सेग्मेन्टमा सुपर स्प्लेण्डर क्सटीईसी टप भेरियन्ट हो । यसका अलावा स्प्लेण्डर प्लस र सुपर स्प्लेण्डर भेरियन्ट पनि उपलब्ध छ ।
नेपालमा धेरै डिमान्ड हुने सेग्मेन्ट भएकाले अहिले प्रायः सबै चर्चित मोटरसाइकल ब्राण्डका कम्प्युटर सेग्मेन्टमा मोटरसाइकलहरू उपलब्ध छन् ।
सस्तो मूल्य र आधुनिक फिचरले भरिपूर्ण स्प्लेण्डर एक किफायति मोटरसाइकल हो । यो तराई क्षेत्रसँगै सहरी क्षेत्रका लागि पनि उपयुक्त छ । आवश्यक पर्दा लामो यात्राको सारथी समेत बनाउन सकिन्छ ।

