काठमाडौं । हिरोको सबैभन्दा पावरफुल र प्रिमियम मोटरसाइकल म्याभ्रिक ४४० को उत्पादन बन्द भएको छ ।
भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता हिरो मोटोकर्पले आफ्नो सबैभन्दा महँगो म्याभ्रिक ४४० मोटरसाइकलको उत्पादन र बिक्री दुवै बन्द गरेको हो ।
भारतीय बजारमा पछिल्लो ३ महिनामा म्याभ्रिक ४४० मोटरसाइकलको बिक्री नै नभएपछि कम्पनीले बन्द गर्ने निर्णय गरेको भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन् ।
मिडिया रिपोर्ट अनुसार ३ महिनाको अबधिमा म्याभ्रिक ४४० मोटरसाइकलको बिक्रीसँगै उत्पादन पनि शून्य रहेको छ । भारतमा हिरोको सबै डिलरहरूले मोटरसाइकलको बुकिङ बन्द गरिसकेका छन् । यस विषयमा हिरो इन्डियाले भने अहिलेसम्म आधिकारिक रूपमा कुनै रिपोर्ट सार्वजनिक गराएको छैन ।
म्याभ्रिक ४४० मोटरसाइकलको उत्पादन केही वर्ष अघि हार्ले डेभिडसन एक्स ४४० को प्लेटफर्ममै भएको हो । यी दुवै मोटरसाइकलमा समान ४४० सीसीको इन्जिन प्रयोग गरिएको छ । यसका बाबजुद पनि हिरो म्याभ्रिक ४४० ले भारतमा सफलता पाउन सकेन । हार्लेको सबैभन्दा सानो इन्जिन क्षमताको एक्स ४४० भने भारतमा राम्रै बिक्री भइरहेको कम्पनीले बताएको छ ।
म्याभ्रिक ४४० को राइड क्वालिटी यसमा दिइएको दमदार इन्जिनका साथ आरामदायक सस्पेन्सन सेटअप निकै टेक्निकल सिस्टम र उत्कृष्ट फिचरहरू भएता पनि मोटरसाइकलले बजारमा पकड जमाउन असफल भएको हो ।

