देशका ४ मुख्य राजमार्ग पूर्ण रूपमा बन्द, ६ एकतर्फी खुले

फाइल तस्बिर ।

काठमाडौं । बाढी पहिरोका कारण देशभरका ४ वटा सडक पूर्ण रूपमा बन्द भएका छन् ।

नेपाल प्रहरीका अनुसार बिहीबार बिहान ९ बजेसम्म ४ मुख्य राजमार्ग पूर्ण रूपमा बन्द रहेका हुन् । ६ वटा सडक खण्डमा भने अवरोध हटाई एकतर्फी संचालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अविरल वर्षाका कारण संखुवासभाको भोटखोला गाउँपालिका ४, बरुणमा सडक अवरुद्ध हुँदा कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । गत जेठ ६ गतेदेखि बन्द यस राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।

त्यस्तै, पाँचथरको फिदिम नगरपालिका हेवाखोलामा बाढी आउँदा मेची राजमार्ग, रसुवाको गोसाइकुण्ड गाउँपालिकामा पहिरो खस्दा पासाङ ल्हामु सडक र रुकुम पश्चिमको आठबिसकोट रिजिगारमा बाढी आउँदा जाजरकोट डोल्पा सडक पूर्ण रूपमा बन्द भएको छ ।

बाढीपहिरोका कारण अवरुद्ध काठमाडौं-नुवाकोट, कालिगण्डकी करिडोरको बागलुङ र नवलपरासी पूर्व र सहिद राजमार्ग भने एकतर्फी रुपमा खुलाइएको प्रहरीले जनाएको छ ।


Back_to_top