भारतले पेट्रोलमा २७ प्रतिशत इथानोल मिसाउने

काठमाडौं । भारतले पेट्रोलमा अब २७ प्रतिशत इथानोल मिसाउने तयारी गरेको छ । २० प्रतिशत इथानोल मिश्रणको लक्ष्य पूरा गरेपछि अब २७ प्रतिशत इथानोल मिश्रण गर्ने योजना अघि बढाउने तयारी गरेको हो ।

भारतीय संचार माध्यमहरुका अनुसार नयाँ इन्धन ‘ई २७’ को विकास भइरहेको छ। भारतीय मानक ब्यूरो (बीआइएस) लाई ‘ई २७’ को लागि आवश्यक मापदण्डहरू तयार गर्न निर्देशन दिइएको छ। सरकारी अधिकारीहरूका अनुसार यस सम्बन्धमा पहिलो चरणको परामर्श आगामी साता हुने भएको छ।

साथै, भारतीय अटोमोटिभ रिसर्च एसोसिएसन (एआरएआइ) ले उच्च इथानोल मिश्रणलाई सपोर्ट गर्न सवारी साधनको इन्जिनमा गर्नुपर्ने परिवर्तनहरूको अध्ययन गर्नेछ ।

यो कदम इन्धन आयात घटाउने र देशभित्रै इथानोल उत्पादन बढाउने भारतको रणनीतिको हिस्सा हो ।

यसैबीच, बीआइएसलाई डिजेलमा १० प्रतिशत आइसोबुटानोल (आइबीए) मिश्रण गर्ने मापदण्डहरू तयार गर्न पनि भनिएको छ । जुन एक सम्भावित नयाँ जैविक इन्धन हो ।

भारतीय सडक यातायात मन्त्रालयले अटोमोबाइल कम्पनीहरूलाई १०० प्रतिशत इथानोल (ई १००) मा चल्ने सवारी साधनहरू उत्पादन गर्न प्रोत्साहन गर्ने नीतिको मस्यौदा सार्वजनिक गर्दै सुझाव माग गरेको छ ।


Back_to_top