हाइनेस सिबी ३५० को बम्पर बुकिङ, क्लासिक ३५० लाई कडा चुनौती

काठमाडौं । होन्डाको आधिकारीक विक्रेता स्याकार ट्रेडिङले केही दिनअघि नेपाल ल्याएको हाइनेस सिबी ३५० को बुकिङ निकै राम्रो रहेको कम्पनीले जनाएको छ । अहिले निषेधाज्ञा जारी रहेकाले अनलाइन मार्फत पहिलो चरणमा आएका सबै मोटरसाइकल लगभग बुकिङ भइसकेको कम्पनीले जनाएको छ ।

होन्डा मोटरसाइकल इन्डियाले भारतमा उत्पादन गरेको मोटरसाइकल ‘होन्डा हाइनेस सिबी ३५०’ नेपालमा निकै प्रतिक्षित मोटरसाइकलको रुपमा रहेको थियो । कम्पनीले ल्याएको नयाँ मोटरसाइकलले सिधा प्रतिस्पर्धा रोयल इन्फिल्ड क्लासिक ३५० सँग हुनेछ ।

मूल्यमा केही फरक भएता पनि यी मोटरसाइकल मुख्य प्रतिस्पर्धी हुन् । हाल सिबी हाइनेस ३५० को मूल्य रोयल इन्फिल्ड क्लासीक ३५० भन्दा १ लाख रुपैयाँले धेरै रहेको छ ।

रेट्रो डिजाइनका मोटरसाइकल चाहनेहरुको बीच यी दुई मोटरसाइकलमा के कस्ता विशेषता समेटिएका छन् भन्ने चासो रहेको पाइन्छ । यी दुई मोटरसाइकलमा रहेका समानता तथा भिन्नताहरु निम्न रहेको छन् ।

यी दुबै मोटरसाइकलमा समान सीसी क्षमताको इन्जिन दिइएको छ । होन्डाले हाइनेस ३४८ मा ३४६ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड, ओएचसी इन्जिन दिएको छ ।

होन्डाको इन्जिनले अधिकतम ५५०० आरपीएममा २१.०७ बीएच पावर र ३००० आरपीएममा ३० एनएम टर्क प्रदान गर्छ । त्यस्तै रोयल इन्फिल्ड क्लासिल ३५० को इन्जिनले अधिकतम ५२५० आरपीएममा १९.३६ बीएच पावर र ४००० आरपीएममा २८ एनएम टर्क प्रदान गर्छ । दुबै मोटरसाइकलमा समान ५ स्पीड गियरबक्स दिइएको छ । पावर र टर्कमा होन्डा सिवी ३५० केही अब्बल रहेको छ ।

क्रुजर मोटरसाइकलमा हुने फ्यूल ट्याङ्कीले पनि निकै प्रभाव पार्ने हुन्छ । रोयल इन्फिल्ड क्लासिकमा १३.५ लिटर क्षमता र होन्डा हाइनेसमा १५ लिटर क्षमताको इन्धन ट्याङ्की दिइएको छ ।

मोटरसाइकलमा रहने अर्को महत्वपूर्ण फिचर सस्पेन्शन हो । दुबै मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क सस्पेन्शन दिइएको छ भने पछाडि होन्डाले ट्वीन रियर शक र रोयल इन्फिल्डले ट्वीन ग्यास शक चार्ज्ड प्रिलोडेड सस्पेन्शन दिएको छ ।

सवारी साधनको महत्वपूर्ण सुरक्षा फिचर भनेकै ब्रेकिङ सिस्टम हो । यी दुबै मोटरसाइकलको दुबै ह्वीलमा डिस्क ब्रेक दिइएको छ । तर, होन्डाले आफ्नो मोटरसाइकलमा केही ठूलो डिस्क ब्रेक दिएको छ । होन्डा हाइनेसमा अगाडि ३१० एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक दिइएको छ । यसमा कम्पनीले डबल च्यानल एबीएस दिएको छ ।

रोयल इन्फिल्ड क्लासिक ३५० को अगाडि २८० एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक उपलब्ध रहेको छ । यसमा पनि डबल च्यानल एबीएस नै रहेको छ ।

रोयल इन्फिल्ड क्लासिक ३५० कम्पनीले सबैभन्दा धेरै विक्री गर्ने मोटरसाइकल रहेको छ । होन्डाले केही दिन अघिमात्र नेपालमा यो मोटरसाइकल भित्र्याएको हो । हाल निषेधाज्ञा जारि रहेको कारण यसको विक्री सुरु गर्न पाएको छैन । तर, कम्पनीले यसको बुकिङ लिनुका साथै फ्रन्ट लाइन वर्कसलाई डेलिभरि दिन सुरु गरेको छ ।

 

नेपाली बजारमा हाल उपलब्ध डबल च्यानल एबीएस भएको रोयल इन्फिल्ड क्लासीक ३५० को मूल्य ६ लाख रुपैयाँ रहेको छ भने होन्डा सिबी हाइनेसको मूल्य ७ लाख निर्धारण गरेको छ । होन्डा सिबी हाइनेस बिएस ६ भर्सनमा रहेको छ भने रोयल इन्फिल्ड बिएस ४ इन्जिनमा रहेको छ । रोयल इन्फिल्डको बिएस ६ भर्सन आउँदा यसको मूल्य अझै केही बढ्ने देखिन्छ ।


Back_to_top