काठमाडौं । जापानी अटोमोबाइल कम्पनी होण्डाले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल उत्पादनका लागि भारतमा पेटेन्ट फाइल दर्ता गरेको छ ।
कम्पनीले कम्प्युटर सेग्मेन्टमा इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्न लागेको हो । होण्डाले भारतसँगै अन्य एसीयाली देशहरूमा निर्यात गर्ने उद्देश्यले नयाँ इलेक्ट्रीक मोटरसाइकल डिजाइन गरेको हो ।
उक्त इलेक्ट्रीक मोटरसाइकल १०० सीसी पेट्रोल इन्जिन क्षमता बराबरको हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।
पेटेन्ट डिजाइन अनुसार मोटरसाइकलमा टेलिस्कोपिक फ्रन्ट फोर्क, रियर ट्वीन सक अब्जरर्बार, ड्रम ब्रेक, क्लासिक गोलाकार हेडलाइट र डिस्प्ले डिजाइन देखिन्छ ।
कम्पनीले लागत कम गराउनका लागि यसमा फ्रेम र अन्य पार्टसहरू साधारण किसिमको राखेको छ । मोटरसाइकलमा झिक्न मिल्ने डबल ब्याट्री अप्सन रहेको छ । यसमा ब्याट्री रेन्ज देखिने छुट्टै डिस्प्ले पनि दिइएको छ ।
पछिल्लो समय होण्डाले बजारमा ल्याएको दुई इलेक्ट्रीक स्कुटरले रेन्ज र फिचरका कारणले राम्रो बजार हिस्सा बनाउन सकेनन् ।
भारतमा इलेक्ट्रीक दुईपाँग्रेको बजार निकै आक्रामक रूपमा बढ्दै गइरहेको छ । धेरै कम्पनीहरूले एड्भान्स टेक्नोलोजी प्रयोग गरेर साधन बजारमा ल्याइरहेका छन् । त्यसैले होण्डाले नयाँ इलेक्ट्रीक मोटरसाइकलका लागि नयाँ रणनीति अपनाएर बजारमा ल्याउनु पर्ने देखिन्छ ।


