१८ महिनामा २ लाख ६५ किमी ड्राइभ, ब्याट्री हेल्थ आश्चर्य लाग्दो

काठमाडौं । विद्युतीय कारमा रहेको ब्याट्री हेल्थको विषयमा खुबै चर्चा हुने गर्छ । ‘साओमी एसयू सेभेन’का एक मालिकले १८ महिनामा २ लाख ६५ हजार किलोमिटर चलाएर अनौठो परीक्षण पूरा गरेका हुन् ।

अहिले यो गाडीको चर्चा चिनियाँ सामाजिक संजालमा भाइरल नै रहेको छ । विबो र बिलिबिलि जस्ता चिनियाँ साइटमा लाखौं प्रयोगकर्ताले यसको भिडियो हेरेका छन् ।

चिनियाँ नागरिक श्री फेङले दैनिक औषत ४९० किलोमिटरका दरले एसयू सेभेन चलाएका हुन् । त्यसपछि गाडीको ब्याट्री हेल्थ चेकअप गर्न पुगेका फेङ रिपोर्ट आएपछि आफू अचम्ममा परेको बताउँछन् ।

‘साओमीका कर्मचारीले मलाई नतिजा दिए । म साँच्चै छक्क परेँ । मेरो अनुमान थियो ब्याट्री हेल्थ ९० प्रतिशतभन्दा तल आयो होला । तर, ९४.५ प्रतिशत रहेछ । यसले मलाई अचम्मित बनाएको छ’ श्री फेङले भनेका छन् ।

साओमी एसयू सेभेनले प्रति १०० किलोमिटर यात्रा गर्न १८ किलोवाट आवर ब्याट्री खर्च गरेको देखिन्छ । फेङले २ लाख ६५ हजार किलोमिटर चलाउँदा ५०६ पटक पूर्ण चार्जिङ साइकल प्रयोग गरेको हो ।

विश्वभर नै अधिकांश गाडी उत्पादकले ८ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी दिँदै आएका छन् । नेपालमा अहिलेसम्म सबैभन्दा लामो वारेन्टी दीपलले आफ्ना गाडीमा सुरू गरेको छ । यसअघि बीवाइडीले सुरू गरेको १० वर्षे वारेन्टीलाई पछाडि पार्दै दीपलले ११ वर्ष वारेन्टी दिएको हो ।

यहाँ अर्को रोचक कुरा के छ भने एसयू सेभेन २ लाख ६५ हजार किलोमिटर चलाउँदा पनि ब्रेक प्याड परिवर्तन गर्न परेन । कार मालिक अर्को १८ महिनामा ६ लाख किलोमिटर यात्रा पूरा गर्ने योजनामा छन् ।

उनले १८ महिनामा गरेको यात्रामा १ लाख युआन (१४ हजार ३०० अमेरिकी डलर) बचत गरेको दाबी गरेका छन् ।


Back_to_top