डोमिनार २५० र हर्नेट २.० मा कुन किन्ने, यस्ता छन् फरक

काठमाडौं । बजाजले केहि दिन भित्र नेपाल ल्याउन लागेको डोमिनार २५० र नेपाल ल्याउने प्रक्रियामा रहेको होन्डा हर्नेट २.० बीच नेपाली बजारमा कडा टक्कर हुने देखिएको छ । यद्यपी कुन मितिमा होन्डा हर्नेट नेपाल आउँछ भन्ने एकिन भएको छैन ।

यी दुई मोटरसाइकल बीच धेरै समानता पाइदैन । तर, मूल्य र फिचरको आधारमा भने यी दुई बीच प्रतिस्पर्धा हुने देखिएको छ । हर्नेट २.० मा कम्पनीले प्रिमियम फिचर दिएको छ भने डोमिनार २५० मा पावरफुल इन्जिन रहेको छ ।

यी दुई मोटरसाइकलमा बजाज डोमिनार २५० निकै पावरफुल रहेको छ । कम्पनीले यसमा २४८ सीसी क्षमताको सिंगल सिलिण्डर, फोर स्टोक डिओएचसी, फोर भल्भ, लिक्विड कुल्ड एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले २७ पीएस पावर प्रदान गर्ने छ ।

होन्डाले हर्नेट २.० मा दिएको १८४ सीसी, फोर स्टोक, एसआई, एयरकुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले १७ पीएस पावर प्रदान गर्छ । हर्नेटको पावर डोमिनारको तुलनामा १० पीएसले कम रहेको छ । होन्डा हर्नेटमा ५ स्पीड गियरबक्स छ भने डोमिनारमा ६ स्पीडको गियरबक्स रहेको छ ।

दुबै मोटरसाइकलमा समान १७ इन्चको अलोय ह्वील दिइएको छ । दुई वटै मोटरसाइकलमा अगाडि र पछाडिको दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । तर, होन्डा हर्नेटमा सिंगल च्यानल एबीएस दिइएको छ भने डोमिनार २५० मा डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।

दुबै मोटरसाइकलमा एलइडी हेडलाइट र एलइडी टेल लाइट रहेको छ भने डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिइएको छ ।

होन्डाले हर्नेट २.० मा सेग्मेन्टमै पहिलो पटक यूएसडी फर्क दिएको छ भने डोमिनारमा पनि अगाडि टेलिस्कोपिक यूएसडी डाउन फर्क दिइएको छ । डोमिनारको पछाडि मल्टी स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ । होन्डा हर्नेट २.० मा पनि मोनोशक दिइएको छ ।

बजाज डोमिनारको मूल्य ४ लाख ८० हजार रुपैयाँ रहने अनुमान गरिएको छ भने होन्डाको मूल्य ४ लाखभन्दा केहि कम हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top