होन्डाले २०२० बाट अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्ने जनाएको रिबेल ५०० र रिबेल ३०० मोटरसाइकल EICMA मोटरसाइकल शोमा सार्वजनिक गरेको छ । कम्पनीले आजबाट इटलीको मिलनमा सुरु भएको मोटरसाइकल शोबाट यी दुई मोडलको नयाँ संस्करणलाई बजारमा उतारेको हो ।
देख्दा उस्तै देखिने यी दुई बाइकमा धेरै विशेषता समान रहेको भएपनि इन्जिन, सस्पेन्सन र च्याचिस फ्रेम भने फरक रहेको छ । यी दुबै मोटरसाइकलमा नयाँ भर्सनको गोलो फुल एलइडी हेडल्याम्प दिइएको छ भने रेक्टेङ्गुलर एलइडी टेल ल्याम्प र रेट्रो लुक्स गोलो एलइडी टर्न इन्डिकेटरले मोटरसाइकललाई आकर्षक बनाएको छ ।

स्टीपली र्याकेड फियुल ट्याङ्क, डिजिटल इन्ट्रुमेन्ट पड (गियरको अवस्था र इन्धन खपत सम्बन्धी जानकारी दिने) र अत्यन्तै यूनिक साइलेन्सर पाइप यसमा जडान गरिएको छ । निकै आरामदायी देखिने यी मोटरसाइकलमा निकै ठूला र फराकिला टायरको प्रयोग गरिएको छ ।
दुबै मोटरसाइकलमा कम्पनीले पहिलेको समस्यालाई ३० प्रतिशत सुधार गरेको जनाएको छ । जसले यी मोटरसाइकललाई निकै आरामदायी बनाएको दाबी गरिएको छ ।
सस्पेन्समा पनि कम्पनीले निकै परिमार्जन गरेको छ । अगाडि परिमार्जन गरिएको टेलिस्कोपिक फर्क र पछाडि ट्वीन रियर शक प्रयोग गरिएको छ ।

रिबेल ५०० मा ४७१ सीसी लिक्वीड कुल्ड प्यारलल ट्वीन इन्जिन दिइएको छ जसले ४५.५ बीएच पावर र ४३.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ ।
त्यसैगरी रिबेल ३०० मा २८६ सीसी सिंगल सिलिण्डर लिक्वीड कुल्ड इन्जिन दिइएको छ । युरो ५ मापदण्डको इन्जिन रहेको यी दुई मोटरसाइकलले यूरोपियन बजारमा राम्रो हिस्सा पाउने कम्पनीले विस्वास ब्यक्त गरेको छ ।

