होङछीका कारमा सोलार सनरुफ, वार्षिक ४०० किलोवाट आवर बिजुली उत्पादन गर्ने

काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता एफएडब्ल्यू होङछीले अटोमोबाइल क्षेत्रमै पहिलो पटक पेरोभस्काइट फोटोभोल्टिक (पीभी) प्रविधिमा आधारित सोलार सनरुफ तयार पारेको छ ।

कम्पनीले तयार पारेको सोलार प्रोटोटाइपो सफल परीक्षण गरेको हो । कम्पनीले सोलार सनरुफ आफ्नो नयाँ एसयूभी होङछी ईएचएस ७ इलेक्ट्रीक एसयूभीमा जडान गरेको छ ।

जसले रियल टाइममा ३०० वाट बिजुली उत्पादन गर्दछ। यो प्रविधिले वार्षिक रूपमा ४०० किलोवाट आवर ऊर्जा उत्पादन गर्न सक्छ । यसरी उत्पादन हुने बिजुलीले गाडीभित्रका एयर कन्डिसनर, फ्रिज र सेन्ट्री मोड जस्ता कम भोल्टेजका उपकरणहरू सहजै संचालन गर्न सकिनेछ ।

भविष्यमा होङछीले कारको बोनेट लगायत कारका अन्य भागहरूमा पनि पेरोभस्काइट तत्वहरू जडान गर्ने योजना बनाएको छ । यसले कारलाई प्रतिदिन १० किलोवाट आवर बिजुली उत्पादन गर्न सक्षम बनाउनेछ । जुन दैनिक ८० किलोमिटरसम्मको यात्राको लागि उपयुक्त हुनेछ ।

होङछीको तथ्यांक अनुसार यसले चिनियाँ कार प्रयोगकर्ताहरूको ८५ प्रतिशतभन्दा बढी दैनिक यात्रा आवश्यकतालाई समेट्छ। यद्यपि, होङछीले यो प्रविधि कहिलेसम्म बजारमा आउँछ भन्नेबारे कुनै समयसीमा भने दिएको छैन।

गाडीको छानामा सोलार प्यानल राख्ने अवधारणा पुरानै भए तापनि परम्परागत सिलिकन प्यानलहरू गह्रौँ, कमजोर र कम कार्यक्षमता भएका हुन्थे। यस समस्यालाई समाधान गर्न होङछीका अनुसन्धानकर्ताहरूले पेरोभस्काइट (क्याल्सियम टाइटेनियम अक्साइड) नामक खनिजको प्रयोग गरेका छन्। पेरोभस्काइटबाट बनेका पीभी तत्वहरू हल्का, पातला, लचिला र उच्च प्रकाश रूपान्तरण क्षमता भएका हुन्छन् ।

यद्यपि, यो प्रविधिलाई गाडीको घुमाउरो सिसामा जडान गर्न र घाम, पानी तथा अक्सिजनबाट जोगाउन प्राविधिक टोलीले निकै चुनौतीको सामना गर्नु परेको थियो।

चीनको सबैभन्दा पुरानो कार ब्राण्ड होङछीले विद्युतीय सवारीको क्षेत्रमा आफ्नो पकड बलियो बनाउन नयाँ प्रविधिहरूमा तीव्रताका साथ काम गरिरहेको छ । यसअघि कम्पनीले ९ मिनेटमै ब्याट्री १० बाट ९७ प्रतिशतसम्म चार्ज हुने प्रविधि विकास गरेको थियो ।

चिनयाँ लग्जरी ब्राण्ड गत नाइमा मोबिलिटी एक्स्पोबाट नेपाल प्रवेश गरेको छ । कम्पनीको नेपालका पहिलो मोडलको रुपमा ईएचएस ४ लन्च भएको थियो ।


Back_to_top