सोमबार लन्च हुँदै नयाँ पल्सर १२५ र १५०

काठमाडौं । लामो समयदेखि बजारमा बिक्री हुँद आएको बजाज पल्सर १२५ र १५० अब अपडेट भएर बजारमा आउने भएको छ ।

बजाज अटोले भारतीय बजारमा नयाँ भर्सन अर्थात अपडेटेड पल्सर १२५ र १५० आगामी अगस्ट २४ तारिकमा सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले यी दुवै मोटरसाइकलको पहिलो टिजर सार्वजनिक गर्दै आगामी सोमबार नयाँ मोडलहरू सार्वजनिक गर्ने पुष्टि गरेको हो ।

यो नयाँ पुस्ताको पल्सर १२५ र १५० बजाजको लोकप्रिय पल्सर लाइनअपलाई थप आधुनिक बनाउने योजनाअन्तर्गत आउन लागेको हो । यसअघि कम्पनीले अपडेटेड एन १६० मोटरसाइकलको बिक्री सुरू गरिसकेको छ । कम्पनीको यस योजना अन्तर्गत पल्सर लाइनअपका सम्पुर्ण मोडलमा मुख्य गरी कन्सोल परिवर्तन हुने बताइएको छ ।

पल्सर १५० नयाँ पुस्तामा प्रवेश गर्नु बजाजका लागि विशेष महत्वको विषय बनेको रिपोर्टमा उल्लेख छ । सन् २००१ मा पल्सर ब्राण्डको सुरूवात गर्दा पल्सर १५० प्रमुख मोडलमध्ये एक थियो । यस वर्ष पल्सर ब्राण्डले आफ्नो २५औँ वार्षिकोत्सव मनाइरहेको अवस्थामा नयाँ पुस्ताको पल्सर १५० सार्वजनिक गर्ने भएको हो ।

पल्सर १५० मोटरसाइकलको नयाँ स्पेकका बारेमा भने कम्पनीले अहिलेसम्म केहि जानकारी खुलाएको छैन ।अर्कोतर्फ नयाँ पल्सर १२५ मोटरसाइकल भने डिलरशिप यार्डमा क्यामोफ्लाजबिनै देखिएको छ ।

नयाँ पल्सर १२५मा नयाँ कलर टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल प्रयोग भएको देखिएको छ । जुन नयाँ एन १६० मा प्रयोग गरिएको थियो । यसमा ब्लुटुथ कनेक्टिभिटी सिस्टम, टर्न बाइ टर्न नेभिगेसन, कल एसएमएस अलर्ट लगायतका सुविधा पाइन्छ ।

नयाँ पल्सर १२५ मा पुरानो मोडलको तुलनामा नयाँ प्लेटफर्म तथा फ्रेम प्रयोग गरिएको देखिन्छ । यसमा ट्युबुलर स्टिल फ्रेम प्रयोग हुने र इन्जिनलाई स्ट्रेस्ड मेम्बरका रूपमा प्रयोग गरिएको देखिएको छ ।

सस्पेन्सनतर्फ अगाडि टेलिस्कोपिक फोर्क र पछाडि मोनोशक दिइनेछ । नयाँ अन्डरपिनिङले मोटरसाइकलको ह्याण्डलिङ तथा राइडिङ अनुभवमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

नयाँ पल्सर १२५ मा हालको १२४।४ सीसी इन्जिनको तुलनामा परिमार्जित वा नयाँ इन्जिन प्रयोग हुने देखिएको छ । इन्जिन केसिङको डिजाइन परिवर्तन गरिएको छ भने एग्जस्ट हेडरको रुट पनि नयाँ देखिन्छ । यसमा हालको इन्जिनभन्दा पावर र टर्कमा सामान्य वृद्धि हुने अपेक्षा गरिएको छ ।

साथै, बजाजका पछिल्ला पल्सर मोडलमा गरिएको रिफाइनमेन्टलाई नयाँ इन्जिनमा पनि प्रयोग गरिने सम्भावना छ । यसले इन्जिनको भाइब्रेसन र आवाज कम गर्न सहयोग गर्ने छ ।

नयाँ पुस्ताको दुवै पल्सरमा पुरानो मोडलको परिचित डिजाइन पहिचानलाई कायम राख्दै बडीको डिजाइनलाई थप शार्प बनाइएको छ । मोटरसाइकलमा एलईडी लाइटिङ, हाजार्ड ल्याम्प, स्प्लिट सिट र स्प्लिट ग्राब रेल जस्ता फिचर पनि उपलब्ध हुनेछन् ।

समग्रमा नयाँ पल्सर १२५ र १५० मा डिजाइन, चेसिस, इन्जिन तथा टेक्नोलोजीमा उल्लेख्य परिवर्तन हुने देखिन्छ ।


Back_to_top