वर्षामा गाडी चलाउँदा ध्यान दिनु पर्ने ९ कुरा

काठमाडौं । मनसुन मध्य चलिरहेको छ । मनसुन भनेपछि २४सै घण्टा पानी पनि परिरहन सक्छ । नेपालको सडक पूर्वाधार त्यति राम्रो छैन । यहाँका बाटाहरु कहीँ हिलो त कतै पानी जमेको हुन्छ । बाटोमा रहेको खाल्डो कत्रो हो भनेर अरु समयमा भेउ पाए पनि वर्षामा पाउन कठिन हुन्छ ।

यसरी सडकमा बनेका खाल्डा-खुल्डीको गहिराई तथा हिलो र चिप्लो थाहा नपाएर गाडी फस्ने वा दुर्घटना हुन सक्ने खतारा रहन्छ । त्यसैले वर्षामा बाटो सधै चिसो र चिप्लो हुने भएकोले एकदमै होसियारी पूर्वक सवारी साधन चलाउनु पर्छ ।

गाडी चलाउँदा आफूभन्दा अगाडिको सवारी साधनसँग सधै निश्चित दुरी कायम राख्नु पर्छ । किनभने अकस्मात ब्रेके लगाउनु पर्दा टायर चिप्लीएर गाडि ठोक्कीने सम्भावना ज्यादा रहन्छ । त्यसैले वर्षामा सवारी साधन चलाउदा एकदमै ध्यान दिनु पर्ने कुराहरुबारे यहाँ चर्चा गरिएको छ ।

१. टायरको परिक्षण

बाटो र सवारी साधनका बीच सम्पर्क गराउने एक मात्र कम्पोनेन्ट भनेको टायर हो । बर्षामा सवारीलाई बाटोमा पकड गराई राख्नाका लागि टायरको अत्यन्त ठूलो भुमिका रहन्छ । त्यसैले टायर प्रेसर सधै ठिक हुनुपर्छ ।

यदि टायरमा हावाको प्रेशर कम भएमा गाडी हल्लिने तथा आवश्यक्ता भन्दा बढि भएमा गाडी उफ्रने हुन सक्छ । टायरमा हावाको साथै टायरको ग्रिप पनि वर्षामा अत्यधिक महत्व पूर्ण हुन्छ । सडकमा ग्रिप बनाइराख्न टायरमा बुट्टाहरू बनाईएको हुन्छ । तर धेरै चलाउदा यस्ता बुट्टाहरु खिइदै जान्छ र टायर सम्मै भएको हुन्छ । यस्तो टायर वर्षाको बेलामा खतरनाक हुन सक्छ । त्यसकारण वर्षा सुरु भएपछि यस्तो टायर परिवर्तन गरिहाल्नु पर्छ ।

टायर खिएको वा न खिइएको परिक्षण सजिलै सिक्काको माध्यमबाट गर्न सकिन्छ । यदि सिक्का बुट्टाको बीचमा रहेको खाल्डोमा छिरेन भने टायर परिवर्तन गर्ने बेला भएछ भन्ने बुझ्नु पर्छ । साधारणतया चार पाङ्ग्रे सवारी साधनको टायरमा १.६ एमएमभन्दा कम गहिरो ग्रिप हुनु हुँदैन ।

२.वाइपरको परिक्षण

वर्षामा पानी परेको बेलामा अगाडिको विण्डसील्डमा पानी परेपछि बाटो देख्न सकिदैन । त्यसको लागि सबै खाले तीन पाङ्गे वा ठूला सवारीमा वाइपरको प्रयोग गर्ने गरिन्छ । वाईपर १ वा २ वटासम्म हुन सक्छ ।

वर्षामा वाइपर अत्यावश्यक हुन्छ । त्यसैले वर्षायाम सुरु हुने बित्तिकै वाइपर कस्तो अवस्थामा छ परिक्षण गर्नु पर्छ । वाइपर चल्ने बिभिन्न गति हुन्छ । कम पानी पर्दा बिस्तारै तथा बाक्लो वर्षाहुँदा छिटो छिटो वाइपर चल्नुपर्छ । वाइपरमा रवरको व्लेड लगाइएको हुन्छ । त्यो खिइएको वा च्यातिएको के कस्तो हालतमा छ राम्रोसँग परिक्षण गर्नु पर्छ ।

यदि वाइवरको व्लेड खिएको रहेछ भने त्यसले वर्षाको पानी मात्र राम्रोसँग सफा नगर्ने होइन अगाडिको विण्डस्कृन नै कोरिदिन सक्छ । त्यसकारण बर्षायाम सुरु हुन अगावै वाइपरको व्लेड परिवर्तन गर्नु पर्छ ।

३. हेडलाइट बालेर चलाउने

वर्षायाममा कहिले कहीँ यति ठूलो पानी पर्छ कि आकाशै घोप्टियको हो कि भन्ने भान पछ्र्र । यस्तो अवस्थामा वाइपरले पनि पानी काट्न सक्दैन । र अगाडि बाटोमा पनि पानी नै पानी हुन्छ । यस्तो अवस्थामा सकेसम्म गाडी नचलाउँदा राम्रो हुन्छ यदि चलाउनै परेता पनि हेडलाइट अन गरेर चलाउनु पर्छ ।

हेडलाइट सधै चम्किलो र सफा हुन आवस्यक पर्छ । कहिले काही हेडलाइटको भीत्र फोहोरहरु जमेर वा हिलो लागेर पूरा प्रकाश नआउन पनि सक्छ । हेडलाइट अन गरेर चलाएमा अगाडिको बाटो पनि देखिन्छ र विपरीत दिशावाट आएको सवारी साधनले पनि आफ्नो गाडी देख्छ । यसले दुर्घटना हुने सम्भावना कम हुन्छ ।

४. सवारीसाधन साइड गर्ने

कहिले काहि अचानक अत्यधिक पानी परेर वा बाक्लो कुहिरो लागेर बाटो नै देख्न नसकिने अवस्था आउन सक्छ । यस्तो अवस्थामा गाडी रोकेर बस्नु उपर्यूक्त हुन्छ । सवारीसाधन रोकेर बस्दा सधै बाटोको साइड च्याप्नु पर्छ । गाडी रोकेर बस्दा पनि हेडलाइट र हाजार्ड (एमर्जेन्सी) लाइट बालेर बस्नु पर्छ । पानी रोकिएपछि तथा कुहीरो हटे पछि मात्र अगाडि बढ्नु उपर्युक्त हुन्छ ।

५. निश्चित दूरी राख्ने

आफ्नो सवारी साधन र अगाडिको सवारीको बीच निश्चित दूरी कायम राख्नु आवश्यक हुन्छ । अझ मनसुनको समयमामा त यो दूरी पहिलाको भन्दा दुई तीन गुणाले बढाउन आवस्यक हुन्छ । यदि हाइवेमा सवारी चलाउने हो भने आफू र अगाडि गाडीको बीचको दुरी कम्तीमा पनि ३ सेकेन्डको हुनु पर्छ । अगाडिको गाडि गुडीरहेको ठाँउमा आफ्नो गाडी पूग्न ३ सेकेन्डभन्दा बढि समय लाग्नु पर्छ ।

६.ठूला सवारी साधनभन्दा टाढै रहनु बेस 

वर्षाको समयमा बाटोमा ठूलो सवारी साधन गुडिरहेको छ भने त्यसभन्दा टाढै रहनु पर्छ । यस्ता सवारी सँग–सँगै गुड्दा कहिले काही आफू खाल्डोमा पनि पर्न सकिन्छ । यस्ता गाडीको टायरको साइज पनि धेरै ठूलो हुने भएकोले सानातीना खाडलमा ब्रेक पनि लगाउदैनन् । अझ हिलो चिप्लो बाटोमा यस्ता गाडीलाई आभरटेक गर्ने गल्ती विर्सीएर पनि गर्नु हुदैन ।

७. बाटोमा लुब्रिकेन्ट पोखिएको याद गर्ने

कहिले काहि ठूला सवारीहरुले बाटोमा लुब्रीकेन्ट वा पेट्रोल डिजेल पोखिएको पनि हुन सक्छ । यस्तो देखिएमा यस्ता बाटोलाई सकेसम्म छलेर हिड्नु पर्छ । किनकी यस्ता ठाँउमा टायर परेमा चिप्लीने सम्भावना अत्याधिक रहन्छ ।

८.पैदल यात्रीलाई सधै याद गर्ने

यदि तपाई सवारी साधन चलाइरहनु भएको छ भने पैदल यात्रीलाई सधै याद गरेर सवारी चलाउनु पर्छ । अझ चारपाङ्गे सवारी हो भने बाटोमा कति पानी जमेको हो राम्रोसँग भेग पाउन सकिदैन । फलस्वरुप गाडीको टायरले पानी उछिट्याएर फुटपाथमा हिड्ने मानिसलाई छ्याप्न सक्छ । त्यसैले मनसुनमा सधै गाडी चलाउँदा विस्तारै चलाउनु पर्छ ।

९. एसी चलाइ रहने

वर्षायाममा गाडी बाहिरको तापक्रम कमहुने तर गाडी भित्रको तापक्रम धेरै हुने भएकोले गाडीको शिशामा वाफ जम्ने गर्छ । यस्तो अवस्थामा हातले वा कपडाले समेत वाफ पूच्ने गल्ती गर्नु हुँदैन । यसो गरेमा शिशामा नराम्रो दाग लाग्छ । यस्तो वाफले अगाडिको बाटोनै नदेखिने हुन सक्छ । यस्तो अवस्थामा तत्काल चिसो एसी चलाउनु पर्छ । एसी भेन्ट भने अगाडिको विण्डस्कृनमा फोकस भएको हुनु पर्छ । वाफ हटेपछि एसी बन्द गर्ने तर फ्यान भने खोलिनै राख्दा राम्रो । तर फ्यानको हावाको प्रवाह भने गाडीको क्यावीन बाहिरको हुन पर्छ ।


Back_to_top