काठमाडौं । युवाहरुको लागि मोटरसाइकल किन्ने बहाना आइरहन्छ । परिक्षको नतिजा आएमा वा आफुले चाहेको कलेजमा भर्ना पाएमा । अझ पहिलो काम वा जागिर शुरु गरेमा त झन् कुरै भएन ।
उनीहरु नयाँ बाइक किन्न शोरुममा पसिहाल्छन् । बाइक किन्नु युवाहरुको लागि निकै महत्वपूर्ण र रमाइलो अवसर हो । त्यसैले हामी यहाँ युवाहरुलाई यो बिषयमा केही मद्दत गर्ने हेतुले केही कुराहरु भन्न गइरहेका छौं, बाइक खरिदका बारेमा ।
जसले आफ्नो पहिलो बाइक किन्न उनिहरुलाई सहयोग पुगोस् ।
१. बाइकको प्रकृति: तपाईंहरु हाइवेमा लामो यात्राको लागि निस्कन चाहनुहुन्छ वा छोटो समयका लागि बाटोमा हुईंकन चाहनुहुन्छ ? यी महत्वपूर्ण प्रश्नहरु हुन् किनभने यही आवश्यकता अनुसार बजारमा बिभिन्न खाले बाइकहरु उपलब्ध छन् ।
‘नेकेड’ बाइक: यी बाइकहरुले बजारका कब्जा जमाएका छन् । टीभीएस अपाचे सिरिज, पल्सर सिरिज देखि एफजेडसम्मका बाइक यस सेग्मेन्ट अन्र्तगत पर्छन् । यी सबै नेकेड बाइक हुन् । यो रेञ्जको सबैभन्दा चर्चित बाइक पल्सर २०० एनएस , टीभीएस अपाचे, यामाहा एफजेड, सुजुकी जिक्सर हुन् ।
यी बाइकहरु हाइवे केन्द्रित बाइकहरु होइनन् र ‘ट्र¥याक’ केन्द्रित पनि होइनन् । यी बाइकहरुमा हावा प्रतिरोधात्मक (विन्ड प्रोटेक्सन) पार्ट पुर्जाहरु हुँदैनन् । यी बाइक छोटो समयका लागि सहरी बाटोमा हुँईकनका लागि उपयुक्त छन् । यी बाइकको ‘टर्निङ रेडियस’ सानो हुन्छ जसका कारण घुमाउन सजिलो हुन्छ । र, चढ्न आरामदायी हुन्छ ।
क्रुजर: यी बाइकहरुमा सिट तल हुन्छन् र ह्याण्डल उठेको हुन्छ । यीनमा तौल बहन क्षमता अधिक हुन्छ र सिट केही फराकीलो हुन्छ । यी बाइकको उद्देश्य भनेको चालकलाई हाइवेको लामो यात्रामा सकेसम्म आरामदायी यात्रा गराउनु हो ।
यी बाइकमा ३०० किलोमिटर सहजै यात्रा गर्न सकिन्छ । रोयल इन्फिल्ड, बजाज एभेञ्जर जस्ता बाइकले यो सेग्मेन्टमा दबदबा कायम गरेका छन् ।
स्पोर्टस बाइक: यामाहा आर १५, केटीएम आरसी २०० र ३९०, बजाज पल्सर आरएस २०० आदि बाइक यो सेग्मेन्टमा पर्छन् ।
यी बाइक छिटो कुद्नका लागि बनाइएका हुन् । उदाहरणको लागि केटीएम आरसी ३९० खाली बाटोमा १७८ किलोमिटर प्रतिघण्टासम्मको गतिमा कुद्न सक्छ । यी बाइकको ‘ह्याण्डलिङ’, ‘एसिलिरेसन’ र ‘ब्रेकिङ’ प्रणाली चुस्त हुन्छन् ।
स्पोर्टस टुरर: यी बाइक स्पोर्ट र क्रुजिङ बाइकको मिश्रण हुन् । सुजुकी जिक्सर एसएफ, यामाहा फेजर र फेजर–२५, बजाज डोमिनर ४०० र महिन्द्रा मोजो जस्ता बाइक यो सेग्मेन्ट अन्र्तगत पर्छन् । यी बाइकमा स्पोर्टस बाइकका सबै गुण हुन्छन् भने अवगुण चाँही हुँदैनन् ।
२. माइलेज क्षमता: सामान्य नियम भनेको इन्जिनको क्षमता जति कम भयो माइलेज उती धेरै हुनु हो । यदि तपाईंलाई १ लिटर पेट्रोल भरेर ५० किलोमिटर यात्रा गर्ने चाहनु हुन्छ भने तपाईं आँखा बन्द गरेर १५० सीसीको बाइक किन्नुस । माइलेज चाहनु भनेको पैसा जोगाउनु हो । १५० सीसीको बाइकले तपाईंको ओठमा धेरै मुस्कान ल्याउन सक्छ, पैसा जोगाएर ।
३. दैनिक यात्रा र रेसिङका लागि: हामी साथीभाईसँग कहिलेकाँही रेसिङ गर्दा त्यो कुनै ब्यवस्थित रेसिङ ट्र¥याक त हुँदैन । यस्तो अवस्थामा २०० सीसीको बाइक ततपाईलाई रेस जित्नुका साथै दैनिक यात्राको लागि पनि उपयुक्त हुन्छ । अहिले सजुकी जिक्सर र पल्सर एनएस १६० ले पनि २०० सीसीका अन्य प्रतिद्धन्दी बाइकलाई टक्कर दिइरहेको छ ।
निष्कर्ष: यदि तपाईं २२ बर्षे ठिटो हो, जसले रातदिन पैसा जोगाएर आफ्ना लागि पहिलो बाइक किन्ने सपना बुन्नु भएको छ भने तपाईंको अलमल बुझ्न सकिन्छ ।
एउटा कुरा के याद गर्नुुस् भने यो तपाईंको पहिलो बाइक हो र योसँग तपाईं धेरै कुरा गर्नुहुनेछ । त्यसैले आफ्नो बजेट भित्रै बसेर बाइक किन्नुस् र राम्रो ‘राइडिङ गियर’ पनि किन्नुस । यो बाइकले तपाईंलाई धेरै आधारभुत कुराहरु सिकाउँछ । यसले तपाईंलाई दुख दिन्छ, धेरै ध्यान खिच्छ । तर, उसले तपाईंलाई नगरकोटको सुर्योदयदेखि मुस्ताङको हावासम्म सबैको अनुभव गराउँछ ।


