देशभर सयौं सवारी साधनमा आगजनी र तोडफोड, अर्बौंको क्षति

काठमाडौं । जेनजीको आन्दोलनका कारण अटोमोबाइल क्षेत्रमा पनि अर्बौं रुपैयाँको क्षति भएको छ ।

आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) भएको आगजनी र तोडफोडबाट अर्बौं रुपैयाँको क्षति भएको हो ।

आन्दोलनका क्रममा प्रदर्शनकारीले अन्धाधुन्ध निजी तथा सार्वजनिक सवारीमा आगजनी तथा तोडफोड गरेका हुन् । उनीहरूले अधिकांश सरकारी कार्यालय, प्रहरी बिट, ट्राफिक कार्यालयमा रहेका गाडी, मोटरसाइकलमा आगजनी गरेका हुन् ।

त्यस्तै, विभिन्न निजी भवनमा रहेको व्यक्तिगत सवारी र थापाथली क्षेत्रका गाडी शोरुममा समेत आगजनी र तोडफोड गरेका हुन् ।

थापाथलीमा रहेको महिन्द, टाटा मोटर्स, सीजी माटर्स, सुजुकी, हुन्डाई लगायतको शोरुममा आगजनी तथा तोडफोड भएको छ । आगजनीबाट अधिकांश शोरुम पूर्ण क्षति पुगेको छ । शोरुममा राखिएका गाडीहरू पनि जलेर नष्ट भएका छन् ।

त्यसैगरी, राजनीतिदक दलका दर्जनौं नेताहरूको गाडीमा पनि आगजनी र तोडफोड भएको छ । कतिपय ठाउँमा पार्किङमा राखिएका सार्वजनिक सवारी साधनमा समेत तोडफोड भएको छ ।

साथै, प्रदर्शनकारीहरूले यातायात व्यवस्था विभागसहित देशका विभिन्न कार्यालयमा समेत आगजनी र तोडफोड गरेका छन् ।

हालसम्म आन्दोलनका क्रममा कति संख्यामा सवारीमा आगलागी र तोडफोड भयो भन्ने एकीन तथ्यांक आइसकेको छैन । तर, यस्तो संख्या सयौंमा हुने देखिन्छ । रकममा हिसाब गर्दा आगलागीबाट अर्बौं रुपैयाँको क्षति पुगेको छ ।

यससँगै निर्जीवन बीमा कम्पनीहरूमा समेत अर्बौं रुपैयाँको भार थपिएको छ । आगलागीमा तथा तोडफोडमा परेका सबै सवारीको मोटर बीमा नगरिएको पनि हुन सक्छ । तर, बीमा गरिएका सवारीहरूको दाबी पर्ने देखिन्छ ।


Back_to_top