हुन्डाई र टाटाको रोचक प्रतिस्पर्धा २०२३ मा पनि जारी

काठमाडौं । कोरियन कार निर्माता हुन्डाई र भारतीय ब्राण्ड टाटा बीच निकै कडा प्रतिस्पर्धा देखिएको छ । यी कम्पनीले भारतमा दोस्रो ठूलो कार निर्माता बन्न कडा प्रतिस्पर्धा गरेका हुन् ।

सन् २०२२ मा दुबै ब्राण्डले भारतमा ५ लाख यूनिटको विक्री आँकडा कटाएका थिए । त्यो प्रतिस्पर्धा सन् २०२३ मा पनि जारी रहेको देखिन्छ । हिजो फेब्रुअरी १ तारिखमा ठूला कार निर्माताले आफ्नो जनवरी महिनाको विक्री तथ्यांक सार्वजनिक गरेका छन् ।

सार्वजनिक भएको तथ्यांक अनुसार हुन्डाईले जनवरी महिनामा ५० हजार १०६ यूनिट कार विक्री गर्दै टाटाभन्दा केही अगाडि रहेको छ । त्यही टाटाले ४७ हजार ९८७ यूनिट कार विक्री गरेको तथ्यांक सार्वजनिक गरेको हो ।

टाटाको निर्याता यूनिट अत्यन्त कम छ । कम्पनीले जनवरीमा ३०२ यूनिट कार निर्यात गरेको छ । कम यूनिट भएपनि टाटाको लागि ८३ प्रतिशतको निकै ठूलो ग्रोथ हो । सन् २०२२ जनवरीमा कम्पनीले १६५ यूनिट मात्रै निर्यात गरेको थियो ।

हुन्डाईको निर्यात भने निकै राम्रो रहेको छ । भारतमा कार उत्पादन गरेर सबैभन्दा धेरै यूनिट निर्यात गर्ने मध्येको एक ब्राण्ड हुन्डाईले १२ हजार १७२ यूनिट कार निर्यात गरेको तथ्यांक सार्वजनिक भएको हो । हुन्डाईको पनि निर्यात २९ प्रतिशतले वृद्धि भएको छ ।

यसरी सबै तथ्यांकमा टाटा र हुन्डाई बीच कडा प्रतिस्पर्धा चलिरहेको प्रस्टै देख्न सकिन्छ । टाटाले ईभीसहित नेक्सन, पन्च, ह्यारीयर र सफारी जस्ता एसयूभीको विक्रीबाट राम्रो नम्बर पाउन सफल भएको छ भने टियागो, अल्ट्रोज र टिगोर पनि राम्रै संख्यामा विक्री गर्दै आएको छ ।

हुन्डाईले क्रेटा, भेन्यू, आई १० नियोस, आई २०, अउरा जस्ता मोडलको विक्री बाट भारतमा राम्रो विक्री आंकडा पाउन सफल भएको हो ।

जनवरीमा १ लाख ५१ हजार ३६७ यूनिट कार विक्री गर्दै मारुती सुजुकीले भारतीय बजारमा आफ्नो बलियो पकडलाई कायम नै राख्न सफल भएको छ ।

 


Back_to_top