हुन्डाई क्यास्पर इलेक्ट्रीमा पनि आउने

काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाईले कोरियाली बजारमा विक्री सुरु गरेको क्यास्पर माइक्रो एसयूभीलाई इलेक्ट्रीक भर्सनमा पनि ल्याउने अनुमान सुरु भएको छ । कम्पनीले सन् २०२२ मा भारतीय बजारमा क्यास्परको विक्री सुरु गर्ने तयारी गरिरहेको छ भने, अर्को वर्ष इलेक्ट्रीक भर्सन ल्याउने टाइम्स अफ इन्डियाले उल्लेख गरेसँगै कम्पनीको सबैभन्दा कम मूल्यको एसयूभी हुने अनुमान गरिएको हो ।

हुन्डाईले भारतमा ४० अर्व लगानी थप गर्दै इलेक्ट्रीक कार उत्पादनमा थप अग्रसर हुने घोषणा गरेको थियो । हुन्डाईले अहिले पनि विद्युतीय कार उत्पादन महंगो पर्ने भएपनि चाँडै कम मूल्यका गाडी ल्याउने जनाएको थियो । सन् २०२८ सम्म हुन्डाईले भारतमा ८ मोडलका इलेक्ट्रीक कार विक्री गर्ने योजना बनाएको छ ।

हुन्डाईले यसरी ल्याउने इलेक्ट्रीक कारलाई ए सेग्मेन्ट गाडी भनेको छ । साइजमा सानो, फिचर लोडेड र उत्कृष्ट रेन्ज कम्पनीले अफर गर्ने जनाएको छ । यद्यपी यसमा रहने व्याट्री र मोटरको विषयमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

कम्पनीले ल्याउने क्यासपरले भारतीय बजारमा आउँदै गरेका र अहिले विक्री भइरहेका क्यास्पर जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । क्यासपरको पेट्रोल भर्सन आगामी वर्ष नेपाली बजारमा आउने छ ।


Back_to_top