काठमाडौं । एमजीले भारतीय बजारलाई लक्षित गरेर कम मूल्यको एसयूभी बजारमा ल्याउने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०२२/२३ मा नयाँ कम मूल्यको एसयूभी बजारमा ल्याइसक्ने जनाएको हो ।
सन् २०१९ बाट भारतमा कार उत्पादन सुरु गरेको एमजीले हेक्टर, हेक्टर प्लस र एस्टर मोडल उत्पादन र विक्री गर्दै आएको छ । कम्पनीले इभी भने भारतमा पनि आयात गरेर विक्री गर्दै आएको हो ।
भारतमा विद्युतीय कारको माग बढ्न थालेसँगै कम्पनीले नयाँ मोडलको इभी ल्याउने तयारी गरेको भन्दै एमजी इन्डियाका प्रेसिडेन्ट तथा डाइरेक्टर राजिव छावाले भने, ‘हामीले एस्टर एसयूभी बजारमा ल्याएपछि अर्को मोडलको तयारी सुरु भएको छ । सरकारले इभीमा केही थप सुविधा उपलब्ध गराउनु पर्छ भनिरहेको भए पनि हाम्रो अर्को मोडल इभी नै हुनेछ ।’
छावाका अनुसार कम्पनीले कम मूल्यको इलेक्ट्रीक कार निर्माणको लागि तयार गरेको नयाँ प्लेटफर्म चाँडै सार्वजनिक गर्ने छ । उक्त नयाँ प्लेटफर्म भारत र अन्य उदयीमान अर्थतन्त्रको लागि हुने छ ।
कम्पनीले नेपालमा विक्री गर्दै आएको एमजी इजेडएसको मूल्य ५० लाख ९९ हजार रहेको छ । तर, कम्पनीले ल्याउने तयारी गरेको इभीको मूल्य ४० लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।
एमजी इन्डियाले नयाँ आउने इभीको ब्याट्री, मोटर, रेन्ज जस्ता विषयमा कुनै जानकारी दिएको छैन ।

