क्रेटा ईभी कुर्ने बढ्दै, बिक्री थाल्ने चटारोमा आयातकर्ता

काठमाडौं । हुन्डाई क्रेटा ईभी अहिले बजारमा सर्वाधिक चासो र चर्चा भइरहेको मोडल हो । भारतमा गत जनवरी १७ तारिखमा लन्च भएको क्रेटा ईभी फेब्रुअरी अन्तिमसम्ममा नेपाल आइसक्ने बताइएको छ ।

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार क्रेटा ईभीको बिक्री थाल्ने मिति भने तय भएको छैन । ‘हामी छिट्टै गाडी बिक्री थाल्ने योजनामा छौं । नयाँ गाडी बिक्री थाल्नु अघिका कामहरू हुँदै छन् । फागुन महिनादेखि हामी ग्राहकलाई गाडी डेलिभरी नै दिनेछौं,’ लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियाले भने ।

गाडी किन्ने मानिस होस् वा बिक्री गर्ने सबैको चासो क्रेटामा देखिन्छ । त्यसको हुनुको मुख्य कारण पेट्रोल मोडलमा क्रेटाको सफलता मुख्य हो । साथै, आयोनिक-५ र कोना ईभीबाट धेरै फिचर ल्याएको कारण मेकानिकल कुरामा पनि क्रेटा बलियो हुने अनुमान बजारले लगाउँदै आएको छ ।

हुन्डाई शोरुम थापाथलीमा भेटिएका भैँसेपाटी बस्ने प्रकाश श्रेष्ठले आफू क्रेटा ईभीको लागि आएको बताए । उनलाई मैले सोधेँ कुन ब्याट्रीमा किन्नु हुन्छ ? मेरो प्रश्न नसकिँदै उनले भने, ‘हुन्डाईले दाबी गर्ने रेन्ज पाइन्छ, मेरो साथीसँग कोना ईभी छ । उसले ३२० किलोमिटर रेन्ज पाएको छ । क्रेटामा त्योभन्दा ठूलो ब्याट्री रहेछ । त्यति त पाउला नि । अनि ब्याट्री साइज किन छान्नु पर्यो र ।’

बरु उनको प्रश्न थियो, साँचै पेट्रोलभन्दा बढी ग्राउण्ड क्लियरेन्समा क्रेटा आउँछ ? मैले सहजै भने तपाईंलाई रेन्जमा त विश्वास छ भने ग्राउण्ड क्लियरेन्स झन् ढाँट्ला त । त्यसपछि दुवै जना हाँस्यौ र छुट्टियौं ।

निरन्तर चलिरहेको क्रेटाको क्रेज

नेपालमा सन् २०१६ को सुरूआतसँगै बिक्री थालिएको क्रेटा कम्प्याक्ट एसयूभी सेग्मेन्टमा उपलब्ध मोडल हो । साइज, हाइट र लुक्समा उत्कृष्ट लाग्ने क्रेटा सडकमा निकै बल्की लाग्छ ।

अहिले नेपालमा उपलब्ध चिनियाँ कारहरू अधिकांश क्रसओभर डिजाइनमा छन् । एसयूभी भए पनि यी गाडीको बनोट केही होचो छ । तर, क्रेटा बल्की लाग्छ । त्यसमाथि बजारमा १० हजार युनिट माथि रहेको क्रेटाले अधिकांशको मन जितेको छ ।

पार्टस् र सर्भिसमा अहिलेसम्म गुनासो नआएको कारण पनि क्रेटा ईभी एकपटक हेर्न बसेका धेरै मानिस बजारमा भेटिएका हुन् । साथै, गाडीमा रहेका केही फिचरले ग्राहकलाई आकर्षित गरेको पनि छ ।

डिजाइनसँगै फिचर बलियो

युनिक फ्रन्ट र बडी डिजाइन कै कारण क्रेटा पहिलेदेखि नै चर्चामा थियो । त्यसमा ईभीसँगै थपिएको कलर अप्सन, क्लोज अफ ग्रिल, एक्टीभ एयर फ्ल्याप जस्ता फिचरले फ्रन्टलाई थप आकर्षक देखाएको छ ।

नयाँ थ्री स्पोक स्टेरिङ ह्वील, स्टेरिङ कोलुममा रहेको गियर सेलेक्टर, सेन्टर कन्सोलमा दिइएको ड्राइभ मोड सेलेक्टर, फुल साइज स्पेयर टायर जस्ता फिचरले उपभोक्तालाई सहज र प्रयोगमैत्री बनाएको छ ।

एडास फिचर, ड्यूल जोन एसी, बोसको ८ स्पीकर, वायरलेस चार्जर, भ्यान्टिलेटेड सिट, ठूलो पानारोमिक सनरुफ, मेमोरी ड्राइभिङ सिट, वेलकम सिट, भेहिकल टु लोड जस्ता फिचर यसमा पाउन सकिन्छ ।

रेन्ज, ब्याट्री र मोटर

अहिले सबैभन्दा धेरै चासो हुने मोटर हो । हुन्डाईले क्रेटामा ९९ र १२६ किलोवाट क्षमताको दुई मोटर दिएको छ । दुवै मोटर अप्सन नेपालमा उपलब्ध हुनेछ । सानो ९९ किलोवाटको मोटरसँग ४२ किलोवाट आवर क्षमताको एनसीएम ब्याट्री यसमा दिइएको छ । जसले सिंगल चार्जमा ३९० किलोमिटर रेन्ज दिने भनिए पनि कम्पनीले ३०० प्लस किलोमिटर भन्ने देखिन्छ ।

ठूलो ब्याट्रीको साइज ५१.४ किलोवाट आवर हो । यो ब्याट्रीसँग १२६ किलोवाटको मोटर छ । यसले सिंगल चार्जमा ४७३ किलोमिटर रेन्ज दिने एआरएआई टेस्टले देखाए पनि सडकमा ४०० किलोमिटर आसपास रेन्ज आउने छ ।


Back_to_top