हुन्डाईले राख्यो यी १२ स्थानमा चार्जिङ स्टेशन, अन्य १० स्थानमा बन्दै (सूचीसहित)

काठमाडौं । हुन्डाईले देशभर इलेक्ट्रीक सवारी चार्ज गर्न विद्युतीय चार्जिङ स्टेशन बनाउन सुरु गरेको छ । हुन्डाईले नाडा अटो शो २०१८ बाट नेपालमा इलेक्ट्रीक कार बिक्री सुरु गरेसँगै चार्जिङ स्टेशन बनाउन सुरु गरेको हो । 

साथै, नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आगामी आर्थिक वर्षमा काठमाडौं बाहिर १० जिल्लामा आफ्नो चार्जिङ स्टेसन सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको हो । 

कम्पनीले केही महिना अघिबाट चर्चित इलेक्ट्रीक कार कोना इभीको बिक्री सुरु गरेसँगै चार्जिङ स्टेशन निर्माणलाई तिब्रता दिएको हो । 

लक्ष्मी इन्टरकन्टिनेन्टलले १० जिल्लाको राजमार्ग क्षेत्रमा प्रत्येक २ सय किलोमिटर भित्रमा एउटा चार्जिङ स्टेशन बनाउने योजना बनाएको कम्पनीका कार्याकारी निर्देशक निराकार श्रेष्ठले जानकारी दिए । 

‘वातावारणमैत्री इलेक्ट्रीक सवारीको माग बढ्दै गइरहेको र लक्ष्मी ग्रुपले पनि हुन्डाईका इलेक्ट्रीक कारको बिक्रीलाई प्राथमिकता दिने नीति लिएको छ,’ श्रेष्ठले भने, ‘इलेक्ट्रीक कारका लागि आवश्यक पूर्वाधार चार्जिङ स्टेशन भएकाले त्यो बनाउन हामी लागि परेका छौं ।’ 

हुन्डाईले राखेको ‘एसी फास्ट’ चार्जिङ स्टेसन हो । उक्त चार्जिङ स्टेसनमा गाडी चार्ज गराउने हुन्डाईका उपभोक्ताले चार्ज शुल्क तिर्नु नपर्नेसमेत उनले जानकारी दिए । 

हुन्डाईले अहिले काठमाडौंका विभिन्न स्थानमा चार्जिङ स्टेशन बनाई सकेको छ । उपत्यकाको हुन्डाईका शोरुम र सर्भिस सेन्टरका साथै लाबिम महल र होटल मेरियटमा राखिएको छ । काठमाडौंमा सिनामंगल, धापासी, कुपन्डोल, थापाथली, नक्साल, तिनकुने, पुलचोक (लाबिम मल), नागपोखरी (होटल मेरियट) गरि ८ स्थानमा चार्जिङ सेन्टर रहेको छ ।

त्यसैगरी पोखराको बाराही सर्भिस, वाटरफ्रन्ट रिसोर्ट, होटल बाराही र होन्डाई शोरुम पोखराका ४ स्थानमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको छ । काठमाडौं र पोखरामा गरि कम्पनीले १२ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिसकेको छ ।

अब कम्पनीले बिर्तामोड–इटहरी, इटहरी–विराटनगर, इटहरी–जनकपुर, जनकपुर–विरगञ्ज, विरगञ्ज–नारायनघाट, नारायणघाट–बुटवल, बुटवल–भैरहवा, बुटवल–दाङ, दाङ–नेपालगञ्ज, नेपालगञ्ज–धनगढीसम्मको प्रत्येक २ सय किलोमिटरमा विद्युतीय चार्जिङ स्टेसन बनाउन लागेको हो । 

कम्पनीले हुन्डाईको कोना र आयोनीक विद्युतीय कारको नेपालमा विक्री वितरण गर्दै आएको छ । 


Back_to_top