भारतमा कार बिक्रीमा नयाँ रेकर्ड, यी हुन् धेरै बेच्ने कम्पनी

काठमाडौं । विश्वकै तेस्रो ठूलो कार बजारमा अक्टोबर महिनाको बिक्री तथ्यांकहरु धमाधम बाहिर आइरहेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको बिक्री तथ्यांक अनुसार महिन्द्रा, टाटा, टोयोटा र मारुती सुजुकी जस्ता ब्राण्डले बिक्रीमा नयाँ रेकर्ड बनाएका हुन् ।

भारतीय बजारमा एक महिनामा नै झण्डै २ लाख कार बिक्री गर्दै मारुती सुजुकीले नयाँ रेकर्ड निर्माण गरेको छ । कम्पनीले अक्टोबर महिनामा मात्रै १ लाख ९९ हजार २१७ यूनिट कार होलसेल बिक्री गरेको हो । मारुती सुजुकीको इतिहासमै एउटै महिनामा बिक्री भएको यो रेकर्ड संख्या हो ।

अर्को बिक्रीमा नयाँ रेकर्ड निर्माण गर्ने कम्पनी महिन्द्रा हो । महिन्द्राले एक महिनामा नै ४० हजारभन्दा धेरै कार बिक्री गरेको पहिलो पटक हो । झण्डै ७६ वर्षको अटोमोवाइल इतिहास बोकेको महिन्द्राले ४३ हजार ७०८ यूनिट गाडी बिक्री गर्न सफल भएको हो ।

भारतकै दोस्रो ठूलो कार उत्पादक कम्पनी हुन्डाईले पनि अक्टोबर महिनामा करिब १५ प्रतिशतले बिक्री बढाएको छ । कम्पनीले एक महिनामा भारतमा ५५ हजार १२८ यूनिट कार बिक्री गरेको हो ।

कियाले पनि सोही अवधिमा २४ हजार ३५१ यूनिट कार बिक्री गर्दै आफ्नो भारत आएदेखिकै एकै महिनामा धेरै बिक्री गरेको चौथो महिना भएको छ ।

टाटाले अक्टोबर महिनामा रेकर्ड कार बिक्री गर्न सफल भएको छ । कम्पनीले एक महिनामा ४८ हजार ३३७ यूनिट कार बिक्री गर्दै आफ्नो यात्रालाई थप मजबुद बनाएको हो ।

टोयोटाले पनि भारतीय बजारमा २० हजार ५०० भन्दा धेरै यूनिट बिक्री गर्दै आफुलाई बलियो रुपमा स्थापित गरेको छ ।

समग्रमा पहिलो पटक भारतीय बजारमा एक महिनामै ४ लाख ७० हजार यूनिट हाराहारी कार बिक्री भएको देखिन्छ ।


Back_to_top