सुजुकीले भारतमा बनाउने ईभी निर्यात गर्ने, अहिले ब्याट्री निर्यात सुरु

काठमाडौं । जापानी ब्राण्ड सुजुकीले भारतीय बजारमा उत्पादन गर्ने विद्युतीय कार अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने घोषणा गरेको छ । केही दिनअघि मात्रै भारतमा कम्पनीको पहिलो इलेक्ट्रीक एसयूभी मोडल ईभीएक्स परिक्षणमा देखिएको थियो ।

भारत सुजुकीको सबैभन्दा ठूलो उत्पादन प्लान्ट, नेटवर्क र बजार हो । त्यसैले कम्पनीले आफ्नो पहिलो ईभी भारतमा नै उत्पादन गर्न लागेको हो । कम्पनीले भारतमा उत्पादन गर्ने ईभी यूरोप र अन्य एशियाली मूलुकमा बिक्री गर्ने योजना बनाएको छ ।

सुजुकी र टोयोटाको वर्न ईभी एसयूभी सुजुकीको गुजरात प्लान्टमा उत्पादन हुनेछ । कम्पनीले उक्त प्लान्टबाट वार्षिक १ लाख २५ हजार गाडी उत्पादन गर्ने लक्ष्य राखेको छ । यो ईभीएक्स एसयूभी टोयोटाले विकास गरेको ‘४०–पीएल स्केटबोर्ड आर्किटेक्चर’मा बन्ने छ ।

मारुती सुजुकीले इलेक्ट्रीक एसयूभी पोल्याण्डमा सडक परिक्षण गरिरहेको तस्विर बाहिर आएको थियो । लगभग प्रोडक्सनको लागि तयार अवस्थामा देखिएको यो एसयूभीको लम्बाई ४.३ मिटर रहेको छ ।

कम्पनीले यसमा २७०० एमएम लामो ह्वीलवेस दिएको र स्केटबोर्ड प्लेटफर्ममा बनेको कारण क्याविन स्पेश प्रसस्त हुने अनुमान गरिएको छ ।

सन् २०२३ को अटो एक्स्पोमा देखाइए ईभीएक्स कन्सेप्टमा ६० किलोवाट आवरको ब्याट्री प्याक रहने गरिएको छ । यसको रेन्ज ५५० किलोमिटरसम्म हुने अनुमान गरिएको छ ।

मारुती सुजुकीले मूल्यलाई ध्यानमा राख्दै इन्ट्री भेरियन्टको रुपमा ४८ किलोवाट आवर क्षमताको ब्याट्रीमा पनि यो एसयूभी ल्याउने अनुमान गरिएको छ । यसको रेन्ज भने सिंगल चार्जमा ४०० किलोमिटर हाराहारी रहने छ ।

मारुती सुजुकी इन्डियाले अहिले पनि भारतमा उत्पादन गरेको हाइब्रिड कारमा प्रयोग गर्ने ब्याट्री निर्यात गर्दै आएको छ । चाँडै यही प्लान्टमा ईभीको लागि आवश्यक पर्ने ब्याट्री उत्पादन सुरु हुँदैछ ।


Back_to_top