भारतबाट निर्यात सुरु भयो ट्राइम्फ मोटरसाइकल, नेपाल पनि आउदै

काठमाडौं । भारतमा उत्पादन भएको ट्राइम्फ ४०० सिरिज मोटरसाइकलको निर्यात सुरु भएको छ । बजाज अटोसँग मिलेर भारतमा उत्पादन भएको ट्राइम्फ ४०० मलेसियामा बिक्री सुरु भएको हो ।

कम्पनीले भारत स्पेशिफिकेशनमा नै ट्राइम्फलाई अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको हो । योसँगै भारतमा उत्पादन भएको ट्राइम्फ ४०० बेलायत र फिलिपिन्समा समेत बिक्री सुरु भएको छ ।

कम्पनीले सन् २०२४ मा भारतमा उत्पादन भएका ट्राइम्फलाई अन्य अन्तर्राष्ट्रिय बजारमा समेत उतार्ने तयारी गरिरहेको छ । कम्पनीले ट्राइम्फ स्पीड र स्क्र्याम्बलर मोडल भारतमा उत्पादन गर्दै आएको छ ।

यी दुबै मोटरसाइकल एकै प्लेटफर्ममा निर्माण भएका हुन् । दुबै मोडलमा सामान्य मात्रै परिवर्तन देख्न सकिन्छ । ट्राइम्फ ४०० मा ३९८ सीसी क्षमताको सिंगल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन छ ।

उक्त इन्जिनले अधिकतम ८ हजार आरपीएममा ४० ब्रेकहर्स पावर र ६५०० आरपीएममा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा स्लीपर र असिस्ट क्लचसँगै ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।

ट्राइम्फको नयाँ मोटरसाइकलमा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ‘राइड वाय वायर थ्रोटल सिस्टम’, ट्रयाक्सन कन्ट्रोल, डबल च्यानल एबीएस र दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ ।

कम्पनीले यसमा युएसबी पोर्ट, फ्रन्ट ह्वीलमा स्वीचेवल एबीएस, लामो ह्यान्डलबार, लामो ह्वीलबेस र ट्राभल सस्पेन्सन दिएको छ ।

नेपालमा कहिले ?

भारतीय उत्पादन स्पीड ४०० नेपाल आउने पक्का जस्तै छ । ट्राइम्फको उत्पादनमा नेपालमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ल्याउने छ ।

बजाजको समेत आधिकारीक बिक्रेता रहेको कम्पनीले बजाज कै शोरुममा राखेर ट्राइम्फ बिक्री वितरण गर्नेछ । ट्राइम्फ मोटरसाइकल भारतमा बजाजले चकन प्लान्टमा उत्पादन गरेको हो । स्पीड ४०० ट्राइम्फ ब्राण्डकै सबैभन्दा सस्तो मोटरसाइकल हो ।

भारतीय बजारमा २ लाख २३ हजार सुरुवाती मूल्य रहेको ट्राइम्फ नेपाल कति मूल्यमा आउला भन्ने धेरैको चासो छ । कम्पनीको निर्यात मूल्यले नेपालमा कति पर्ला भन्ने एकिन गर्न सकिन्छ । तथापि, बजाज डोमिनारकै सेग्मेन्टमा आउने र डोमिनारभन्दा भारतमा सुरुवातमा कम मूल्य राखेको कारण ६ लाख नेपाली रुपैयाँ हाराहारीमा स्पीड ४०० नेपालमा बिक्री हुन सक्ने हाम्रो अनुमान छ ।

बजाजकै एसेम्वल प्लान्टमा ट्राइम्फको एसेम्वल गर्ने हो भने ट्राइम्फ अझै कम मूल्यमा आउने अनुमान गर्न सकिन्छ । सन् २०२४ को मध्यसम्ममा ट्राइम्फका उत्पादन नेपाल आउने छन् ।


Back_to_top