नेपाल आयो फोर ह्वील ड्राइभ ‘टी-८’ पीकअप, यही हप्ताबाट बुकिङ सुरु हुने

काठमाडौं । चिनियाँ ब्राण्ड जेएसीको पीकअप ‘टी-८’ नेपाल आएको छ । प्यूजो र सिट्रोन जस्ता यूरोपियन ब्राण्डलाई नेपालमा विक्री गर्दै आएको साँग्रिला मोटर्सले ‘टी ८’ पीकअप नेपाल ल्याएको हो ।

पछिल्ला दिनमा नेपालमा पीकअपको माग बढ्दै गएसँगै साँग्रिला मोटर्सले पीकअप नेपाल ल्याएको हो । चालु आर्थिक वर्षको ५ महिना साउनदेखि मंसिर मसान्तसम्ममा १ हजार ५ सय डबलक्याव पीकअप नेपाल आएबाट नै नेपालमा पीकअपको माग कस्तो छ भन्ने देखिन्छ ।

कम्पनीले नेपाल ल्याएको ‘टी-८’ निकै आकर्षक देखिएको छ । यसको पावर र फिचर पनि निकै उत्कृष्ट रहेको कम्पनीले जनाएको छ ।

यो पीकअपको लम्बाई ५३२५ एमएम चौडाई १८८० एमएम र उचाई १८३० एमएम रहेको छ । यसमा ग्राहकले ३०९० एमएमको ह्वील वेस पाउने छन् । यसमा २२० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

चीनमा जेएसीले टी ८ पीकअप पेट्रोल र डिजेल इन्जिनमा विक्री गर्दै आएको छ । नेपाल आएको मोडलमा भने २.० लिटर क्षमताको डिजेल इन्जिन उपलब्ध रहेको छ । यसमा १९९९ सीसी क्षमताको उक्त इन्जिनले अधिकतम १३९ पीएस पावर र ३२० एनएम टर्क प्रदान गर्छ ।

सिक्स स्पीड म्यानुयल गियरबक्स, १८ इन्चको आल्मुनियम अलोय ह्वील र ७६ लिटरको इन्धन ट्याङ्की रहेको यो मस्कुलर पीकअपमा सुरक्षाको लागि अगाडि दुई एयरव्याग, इबीडी सहितको एबीएस, इएसपी, टायर प्रेसर मोनिटर, फ्रन्ट र रियर पार्किङ सेन्सर, हिल होल्ड एसिस्ट, ट्रयाक्सन कन्ट्रोल, भेहिकल डाइनामिक कन्ट्रोल जस्ता फिचर प्रदान गरिएको छ ।

यस पीकअपमा ग्राहकले अटोमेटीक हेलोजीन हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, मल्टी फङ्गशनल स्टेरिङ ह्वील, ६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, पुस बटम स्टार्ट, स्मार्टफोन कनेक्टीभीटी, इलेक्ट्रीकल पार्किङ ब्रेक, अटो होल्ड, किलेस इन्ट्री जस्ता फिचर पाउने छन् ।

फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुने यो पीकअपलाई साँग्रिला मोटर्सले ६० भन्दा कम मूल्यमा नै विक्री गर्ने जनाएको छ । यसको आधिकारीक बुकिङ आगामी शुक्रबार भित्रै खुल्ला हुने कम्पनी स्रोतले जानकारी दियो ।


Back_to_top