काठमाडौं । अमेरिकी एसयूभी निर्माता कम्पनी जीपले आफ्नो पहिलो फुल इलेक्ट्रीक एसयूभीको तस्विर सार्वजनिक गरेको छ । कम्पनीले अर्को वर्षबाट विक्री सुरु गर्ने योजना सहित इलेक्ट्रीक एसयूभीको तस्विर सार्वजनिक गरेको हो ।
कम्पनीले तस्विर सार्वजनिक गरेको भएपनि यसमा रहने टेक्निकल डिटेलहरुको बारेमा केही जानकारी दिइएको छैन । कम्पनीले देखाएको इलेक्ट्रीक एसयूभी जीप कम्पाससँग मिल्दो जुल्दो रहेको छ । यसको ग्रिलमा ‘इ’ व्याच दिइएको छ ।
जीपले इलेक्ट्रीक एसयूभीको कन्सेप्टमा पनि आफ्नो चर्चित सिक्स स्यालेट ग्रिलको प्रयोग गरेको छ । स्प्लीट हेडल्याम्प, होरिजेन्टल एलइडी डे टाइम रनिङ लाइट, कालो कलरको हाउजिङ सहितको फगल्याम्प यसमा दिइएको छ । निकै बल्की र मसकुलर देखिएको कन्सेप्टले जीपका पारखीलाई लोभ्याउँछ ।
बाहिरी डिजाइनलाई आधारमान्दा जीपले आफ्नो कम्बस्चन एसयूभीको लुक्सलाई इलेक्ट्रीकमा पनि निरन्तरता दिएको छ । एक्स आकारको टेलल्याम्प दिइएको नयाँ इलेक्ट्रीक कार यही वर्षको नोभेम्बरबाट उत्पादन सुरु हुने जीपले जनाएको छ । जीपका अनुसार अन्तर्राष्ट्रिय बजारमा सन् २०२३ को जनवरीबाट आउने छ ।


