नजिकिँदै जेटोरको नेपाल प्रवेश, हाम्रो सडकलाई कति ठिक ?

काठमाडौं । चेरी होल्डिङ ग्रुप अन्तर्गतको प्रिमियम ब्राण्ड जेटोर नेपाल प्रवेश गर्ने भएको छ । लक्ष्मी ग्रुपले जेटोर ब्राण्ड नेपाल भित्र्याउने भएको हो ।

डेढ वर्ष अघि सीजी ग्रुपले जेटोर ब्राण्ड नेपाल ल्याउने सम्झौता गरेको थियो । तर, विभिन्न कारण नेपाल आउन नसकेको जेटोर अहिले लक्ष्मी ग्रुपले ल्याउने भएको हो ।

कम्पनीले आगामी साउन २६ गतेदेखि भृकुटीमण्डपमा आयोजना हुने नाइमा मोबिलिटी एक्सपोमा जेटोर ब्राण्ड लन्च गर्ने तयारी गरेको हो ।

विश्व बजारमा जेटोरका एक्स ५०, एक्स ७०, एक्स ९०, टी २ जस्ता मोलड उपलब्ध छन् । तीमध्ये कम्पनीले कुन ल्याउन लागेको हो खुलाएको छैन । तर, नेपालको भूगोल सुहाउँदो आफ रोड एसयूभी टी२ ल्याउने अनुमान छ ।

नेपालको लागि कति उपयुक्त ?

नेपालको भौगोलिक बनोट अनुसार जेटोरका उत्पादनहरू उपयुक्त देखिन्छन् । कम्पनीका अधिकांश मोडल उच्च ग्राउण्ड क्लियरेन्स, मस्कुलर डिजाइन र आधुनिक हाइब्रिड पावरट्रेनमा आधारित छन्।

पहाडी तथा ग्रामीण सडकमा चलाउनु पर्ने उपभोक्ताको लागि जेटोरले विकल्प दिन सक्छ । अफरोड लुक, प्रशस्त क्याबिन स्पेस र आधुनिक फिचर खोज्ने ग्राहकलाई यसले आकर्षित गर्ने सम्भावना छ।

तर, चुनौती पनि कम छैन । नेपालमा ईभी बजार तीव्र गतिमा विस्तार भइरहँदा चर्को प्रतिस्पर्धा छ । साथै, पेट्रोल, हाइब्रिड र प्लग–इन हाइब्रिड एसयूभीमा करको भार तुलनात्मक रूपमा बढी छ। यसले मूल्य प्रतिस्पर्धामा असर पार्न सक्छ।

अर्कोतर्फ ब्राण्डको सफलता स्थानीय वितरकको क्षमता, स्पेयर पाट्र्सको उपलब्धता, बिक्रीपछिको सेवा तथा ग्राहकलाई दिने समग्र अनुभवमा पनि निर्भर रहनेछ। यी पक्ष बलिया भए जेटोर नेपाली बजारमा अर्को महत्वपूर्ण एसयूभी ब्राण्ड बन्न सक्ने सम्भावना देखिन्छ।

जेटोर सन् २०१८ मा चीनको चेरी होल्डिङ ग्रुप अन्तर्गत स्थापना भएको थियो । ‘जेट’ र ‘टुर’ शब्द जोडेर बनाइएको यसको नामले सहज, आरामदायी र रमाइलो यात्राको अवधारणालाई प्रतिनिधित्व गर्छ।

यही अवधारणालाई आधार बनाएर कम्पनीले मुख्यतः एसयूभी र क्रसओभर मोडल उत्पादन गर्दै आएको छ। पछिल्ला वर्षमा जेटोरले अफरोड शैलीका ठूला एसयूभी र प्लगइन हाइब्रिड मोडलहरूमा लगानी बढाउँदै लगेको छ।

स्थापनाको छोटो अवधिमै जेटोर विश्वका करिब ७० बढी देशमा पुगिसकेको छ। मध्यपूर्व, अफ्रिका, दक्षिण अमेरिका तथा एसियाका धेरै मुलुकमा यसको बलियो उपस्थिति देखिन्छ।


Back_to_top