नेपाल आयो मिनि इलेक्ट्रीक कार, यस्ता छन् विशेषता

काठमाडौं । जिआयुआन ब्रान्डको इलेक्ट्रीक कार नेपाली बजारमा भित्रिएको छ । चिनियाँ कम्पनी जिआयुआनले उत्पादन गरेको यो कार नेपाली बजारमा एइसीजी (AECG) ग्रुपले नेपाल ल्याइएको हो । 

अहिले उक्त कारको रोड वर्दिनेस र प्रदुषण परिक्षण भइसकेको छ । भेइकल फिटनेश सेन्टरमा परिक्षण पश्चात त्यसको रिपोर्ट यातायात व्यवस्था विभागमा पठाइएको सेन्टरका प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए । 

जिआयुआनलाई कम्पनीले लो स्पीड र हाई स्पीड भेरियन्ट गरि दुई भेरियन्टमा अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

यो मोडल निकै छोटो कारको रुपमा रहेको छ । यसको लम्बाई २२४५ एमएम, उचाई १५७० एमएम र चौडाई १२९० एमएम मात्र रहेको छ । कारको ह्वीलवेस भने १५०० एमएमको छ ।

१८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो गाडी सहर लक्षीत कार हो । व्याट्री सहित ६१३ केजी तौल रहेको यो कारमा एसी मोटरको प्रयोग गरिएको छ । यसमा लिथिएम आयोन व्याट्रीको प्रयोग गरिएको छ । २२० भोल्ट पावरले यी व्याट्री चार्ज गर्न सकिन्छ ।

अगाडिको चक्कामा डिस ब्रेक र पछाडिको चक्कामा ड्रम ब्रेक दिइएको कारमा आल्मुनियम अलोय ह्वील हवको प्रयोग गरिएको छ । यो गाडीको टप स्पीड ८० किलोमिटर प्रतिघन्टा रहेको छ । यसको लो भेरियन्टको टप स्पीड भने ४५ किलोमिटर मात्र रहेको छ ।

एक पटकको फुल चार्जमा लो स्पीड कारले १५० किलोमिटर माइलेज दिने छ भने, टप स्पीड मोडलले १२० किलोमिटर माइलेज दिने छ । यसमा चालकसहित दुई जना ठूला मानिस अगाडिको सिटमा र दुई जना बच्चा पछाडिको सिटमा बसेर यात्रा गर्न सक्ने छन् ।


Back_to_top