एकसाथ परीक्षणमा देखियो किया कारेन्स र हुन्डाई क्रेटा ईभी

काठमाडौं । हुन्डाई मोटर्स ग्रुपको स्वामित्वमा रहेको हुन्डाई र कियाले आफ्नो भारतमा उत्पादन हुने पहिलो मोडलको एकसाथ परीक्षण गरिरहेको छ । कम्पनीले किया कारेन्स र हुन्डाई क्रेटाको इलेक्ट्रीक भर्सनको एकसाथ परीक्षण गरिरहेको हो ।

भारतमा उत्पादन हुने यी दुबै एसयूभी सफल मानिन्छन् । त्यसमा पनि हुन्डाई क्रेटा भारतमा मात्रै ११ लाख यूनिट बिक्री भइसकेको छ । भारतमा उत्पादन गरेर ३ लाख यूनिटभन्दा धेरै क्रेटा निर्यात गरेको हुन्डाईले आफ्नो सर्वाधिक सफल मोडलको ईभी डिसेम्बरमा लन्च गर्दैछ ।

कियाले भारतमा उत्पादन गरेको ७ सिट क्षमताको कारेन्स ठिकठाक ब्यापार गरिरहेको मोडल हो । क्रेटाभन्दा साइजमा केही ठूलो कारेन्स ठूलो परिवार भएका मानिसको रोजाइमा पर्दै आएको छ ।

हुन्डाई मोटर्स ग्रुपले आफ्नो दुबै ब्राण्डका पहिलो भारतमा बन्ने एसयूभीमा के कस्ता फिचर रहनेछन्, त्यसको पूर्ण विवरण बाहिर ल्याएको छैन । यद्यपि, विभिन्न मिडिया रिपोर्टहरुको दावी अनुसार क्रेटा ईभीमा ४५ किलोवाट आवर क्षमताको ब्याट्री र १०० किलोवाटको इलेक्ट्रीक मोटर रहनेछ ।

क्रेटा ईभी धेरै हदसम्म अहिले बजारमा रहेको पेट्रोल क्रेटासँग मिल्दो जुल्दो हुनेछ । तर, इलेक्ट्रीक भएको कारण यसको ग्रिल र पछाडिको पार्टस्मा केही परिमार्जन हुने अनुमान गर्न सकिन्छ ।

इलेक्ट्रीक क्रेटामा रेगुलर क्रेटाभन्दा फरक स्टेरिङ ह्वील, १०.२५ इन्चको ड्यूल स्कृन, भ्यान्टीलेटेड सिटदेखि सनरुफसम्म उपलब्ध हुने क्रेटा ईभीमा एडास २.५ फिचर उपलब्ध हुनेछ ।

उता किया कारेन्समा दिइने फिचरको विषयमा कुनै जानकारी बाहिर आएको छैन । कम्पनीले कारेन्स ईभीलाई ६ र ७ सिट अप्सनमा ल्याउने छ । यसमा पनि १०.२५ इन्चको ड्यूल स्कृन, ३६० डिग्री क्यामेरादेखि एडास फिचरसम्म उपलब्ध हुनेछ ।


Back_to_top