कियाले भारतमा बनाउँदै ‘क्लाभिस’ एसयूभी, पेट्रोल र ईभी दुबैमा आउने

काठमाडौं । कोरियन निर्माता कियाले भारतमा ‘क्लाभिस’ नामबाट नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ एसयूभी धेरै हदसम्म किया सोलमा आधारित रहने अनुमान गरिएको छ ।

भारतीय बजारमा पेट्रोल कारको माग उच्च रहेको कारण सुरुमा पेट्रोलियम पदार्थबाट चल्ने मोडल आउने छ । कम्पनीले लाइफ स्टाइल एसयूभीको रुपमा क्लाभिसलाई ल्याउने सम्भावना पनि त्यतिकै रहेको छ ।

कियाले अहिले भारतमा उत्पादन गर्दै आएको सेल्टोस र सोनेटको बीचमा राखेर बिक्री गर्नेगरी आउने भएको कारण लाइफ स्टाइल प्रोडक्ट हुन सक्ने अनुमान गरिएको छ । कम्पनीले यसलाई ‘कोड नेम एवाई’ दिएर उत्पादनको काम अगाडि बढाएको छ ।

क्लाभिसलाई कम्पनीले कोरियाको सडकमा परिक्षण गरिरहेको तस्विरहरु बाहिर आएका छन् । यसको डिजाइन अहिले चलिरहेको कियाको एसयूभीको भन्दा फरक देखिएको छ । क्लाभिस टल र बक्सी डिजाइनमा बनेको छ । यसको क्याविनमा प्यासेन्जरका लागि प्रसस्त स्पेश रहनेछ, भने बुटस्पेश पनि यथेस्ट पाइने छ ।

क्लाभिसमा इन्टरनल कम्बस्चन र इलेक्ट्रीक दुबै भर्सनमा आउने छ । यसमा १.० लिटर टर्बो पेट्रोल इन्जिन रहने अनुमान गरिएको छ । उक्त इन्जिनले अधिकतम १२० पीएस पावर तथा १७२ न्यूटन मिटरको टर्क जेनेरेट गर्नेछ । यसमा ६ स्पीडको इन्टेलीजेन्ट म्यानुअल र ७ स्पीडको डिउल क्लच गियरबक्स रहने छ ।

इलेक्ट्रीक भेरियन्टको भने कुनै बिबरण बाहिर आएको छैन । तर, मिडिया रिपोर्टहरुका अनुसार यसमा १०० देखि १२० किलोवाटको मोटर तथा ३५० देखि ४०० किलोमिटर रेन्ज दिने ब्याट्रीप्याक रहने छ ।


Back_to_top