कियाको नयाँ फिचरप्याक एसयूभी ‘सिरोस’ सार्वजनिक

काठमाडौं । कोरियन अटोमोबाइल कम्पनी किया मोटर्सले नयाँ कम्प्याक्ट एसयूभी सिरोसको ग्लोबल डेब्यू गरेको छ । कम्पनीले बिहीबार भारतको नयाँ दिल्लीबाट सिरोस सार्वजनिक गरेको हो ।

किया सिरोस किया मोटर्सको ४ मिटर लम्बाइ भएको दोस्रो भारतीय मोडल हो । कियाले हाल भारतमा ४ मिटर लम्बाइकै सोनेट बिक्री गरिरहेको छ ।

किया सिरोस ठूलो साइजको एसयूभी किया ९ को डिजाइन ल्याङ्वेजमा बनेको छ । अहिले पेट्रोल र डिजेल इन्जिनमा लन्च भएको सिरोस निकट भविष्यमै ब्याट्री इलेक्ट्रीक भेरियन्टमा समेत आउने छ ।

टलब्वाय बक्सी डिजाइनको किया सिरोसको फ्रन्ट फेसिया अग्लो डिजाइनमा रहेको छ । यो एसयूभी कियाको ग्लोबल ईभीहरू ईभी ९ र ईभी ३ बाट प्रभावित भएको देखिन्छ । यसमा भर्टिकल डिजाइनको हेडलाइट डिजाइन रहेको छ भने दुवै तर्फका एजमा ड्रपडाउन एलईडी डीआरएल रहेको छ ।

कियाले सिरोसमा नयाँ डिजाइनको ड्यासबोर्ड रहेको छ । यसका १२.३ इन्चको दुईवटा इन्फोटेन्मेन्ट तथा इन्स्ट्रुमेन्ट क्लस्टर कनेक्टेड स्क्रीन दिएको छ । यसको बीचमा छुट्टै ५ इन्चको क्लाइमेट कन्ट्रोल स्क्रीन समेत रहेको छ । सिरोसको कुल स्क्रीनको लम्बाइ ३० इन्च रहेको छ ।

सिरोस एसयूभीमा नयाँ टुस्पोक स्टेरिङ ह्वील, वायरलेस चार्जिङ प्याड, एचएभीसी कन्ट्रोलका लागि फिजिकल स्वीच, होरिजेन्टल एसी भेन्ट र एम्बियन्ट लाइट रहेको छ । यो एसयूभीका अन्य फिचरमा वायरलेस एण्डरोइड अटो तथा एप्पल कारप्ले, इनकार कनेक्टीभीटी टेक, सबै भेन्टीलेटेड सिटहरू, पावर ड्राइभर सिट, ८ वटा स्पीकर सहितको हर्मन कार्डनको साउण्ड सिस्टम, ड्युल प्यानल प्यानारोमिक सनरुफ, इलेक्ट्रीक पार्किङ ब्रेक, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, फ्रन्ट र रियर पार्किङ सेन्सर र लेवल २ एडास सिस्टम रहेको छ ।

यसको साइडमा बाक्लो प्लाष्टिक क्लाइडिङ र ह्वीलआर्क  रहेको छ भने डोरह्याण्डल फ्लस डिजाइनको रहेको छ । यो एसयूभीमा थ्री पेडल डिजाइनको १७ इन्चको अलोयह्वील दिएको छ । रियरमा हाइ माउण्टेड एल सेपको टेललाइटले रियर विण्डस्क्रीनलाई घेरेको छ । यो एसयूभीको फ्रन्ट र रियरमा ब्ल्याक र सिल्भर कम्बिनेसनको बम्पर रहेको छ।

किया सिरोसको लम्बाइ ३९९५ एमएम, चौडाइ १८०० एमएम, उचाइ १६६५ एमएम तथा २५५० एमएमको ह्वीलबेस रहेको छ । किया सिरोस सोनेटभन्दा १० एमएम चौडा, ५५ एमएम उचाइ र ५० एमएम लामो ह्वीलबेस रहेको छ । सिरोसको बुटस्पेश ४६५ लिटरको रहेको छ, जुन सोनेटभन्दा ८० लिटरले बढी हो ।

कियाले सिरोसमा १.० लिटरको टर्बो पेट्रोल इन्जिन तथा १.५ लिटरको डिजल इन्जिन अप्सन दिएको छ ।  दुईवटा पेट्रोल तथा १ डिजेल इन्जिन अप्सन दिएको छ । यो इन्जिनको साथमा ६ स्पीड म्यानुअल, ७ स्पीडको डीसीटी तथा ६ स्पीडको टर्क कन्भर्टर अटोमेटिक गियर अप्सन रहेको छ । यसको माथिल्लो भेरियन्टमा पेडल सिफ्टर समेत हुने बताइएको छ । सिरोस ६ भेरियन्टमा उपलब्ध हुनेछ ।

कियाले सिरोसको डेब्यू गरे पनि यसको मूल्य भने फेब्रुअरीमा मात्र सार्वजनिक गर्नेछ । स्थानीय बजारमा यो एसयूभीको बुकिङ अगामी जनवरी ३ देखि खुल्नेछ । कियाले सोनेट र सेल्टोसको बीचमा पोजिसनिङ गरेको यो एसयूभीको मूल्य अन्य कम्पनीको सबफोर मिटर एसयूभीको हाराहारीमा हुनेछ ।


Back_to_top