काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थमन्त्री रामेश्वरप्रसाद खनालको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित एक समारोहमा ऋण सम्झौताका लागि हस्ताक्षर भएको हो ।
ऋण सम्झौतामा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख सहसचिव डा. धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरे । त्यस्तै, ऋण सहायतासँग सम्बन्धित एक्सचेन्ज अफ नोट मा अर्थ सचिव डा. घनश्याम उपाध्याय र महामहिम जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे।
जापानले उक्त आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध गराएको छ।

जाइकामार्फत प्राप्त हुने उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ।
यस आयोजनाअन्तर्गत कोटेश्वर तथा जडीबुटी खण्डमा अन्डरपास तथा फ्लाइओभर निर्माण गरिने छ । जसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्ग हुँदै चल्ने सवारीसाधनको आवागमन सहज बनाउन तथा ट्राफिक जाम न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ।
हस्ताक्षरपछि जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकी, राजदूत मायदा तोरु तथा मन्त्री रामेश्वर प्रसाद खनालले सम्बोधन गर्दै द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
जापानी राजदूतले जापानको सहुलियतपूर्ण ऋण सहयोगमा कार्यान्वयन हुने कोटेश्वर चोक सुधार आयोजना कार्यान्वयनबाट उपत्यकाको यातायात व्यवस्थामा उल्लेख्य सुधार हुने विश्वास व्यक्त गर्नुका साथै नेपाल र जापानबीचको दशकौं पूरानो मित्रतापूर्ण सम्बन्धको स्मरण गरे ।

अर्थमन्त्री खनालले आफ्नो सम्बोधनमा नेपाल-जापान सहकार्यअन्तर्गत काठमाडौं उपत्यकाको महत्वपूर्ण जामयुक्त स्थानको सुधारमा प्रगति ल्याउने उद्देश्यले अघि बढाइएको यो परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।
यस्तो बन्नेछ आयोजना
कोटेश्वर इन्टरसेक्सन सुधार आयोजना अन्तर्गत दुई वटा फ्लाइओभर र एउटा सुरुङ निर्माण गरिने छ । तीनकुनेदेखि मनोहरा खोलासम्म १६०२ मिटर लामो फ्लाइओभर र सुरुङ बनाउने प्रस्ताव गरिएको छ । जसमा ९०२ मिटर लामो दुई वटा फ्लाइओभर र ७०० मिटर लामो सुरुङ निर्माण हुनेछ ।
तीनकुने चोक (शान्तिनगरतर्फबाट आउँदा)देखि त्रिभुवन विमानस्थलसम्म (मुनिभैरव मन्दिर माथिसम्म) ६६४ मिटर लामो फ्लाइओभर बनाइने छ । जसमा ४२० मिटर प्रेस्ट्रेस्ड कंक्रिट र २२४ मिटर स्टीलको संरचना निर्माण गरिने छ ।

उक्त फ्लाइओभरबाट आएका सवारी साधन सिधै जडिबुटी निस्कने गरी विमानस्थलको जमिन मुनि ७०० मिटर लामो सुरुङ निर्माण गरिने छ । त्यस्तै, त्रिभुवन विमानस्थलदेखि जडिबुटी हुँदै मनोहरा सम्म २३८ मिटरलामो स्टीलको फ्लाइओभर निर्माण गर्ने प्रस्ताव गरिएको छ ।
यी संरचना बनाएपछि शान्तिनगर तर्फबाट आउने सवारी साधन तीनकुनेबाट फ्लाइओभर र सुरुङ हुँदै सिधै मनहरापुलमा निस्कने छन् । त्यस्तै, लोकन्थलीतर्फबाट आएका सवारी तीनकुने निस्कने छन् । चक्रपथतर्फबाट आएका सवारी साधन भने हालकै सडकमार्फत आवत जावत गर्ने छन् । त्यस्तै, पैदलयात्रीका लागि कोटेश्वरचोकमा तीनमुखे आकाशे पुल बनाइने छ ।
उक्त आयोजना निर्माण सम्पन्न गर्न ५ वर्ष बढी लाग्नेछ । सन् २०२८ को अप्रिल भित्र ठेक्का सम्झौता गरी निर्माण थाल्ने र सन् २०३३ अगष्टमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

