टोयोटा मोटर्सले आफ्नो सर्वाधिक सफल एसयूभी ल्याण्ड क्रुजर एलसी २०० को फेसलिफ्ट ल्याउने तयारी गरिरहेको देखिएको छ । टोयोटा ल्याण्ड क्रुजर एलसी २०० को नयाँ जेनेरेशन आउने अनुमान भइरहेको समयमा फेसलिफ्टको तस्विर बाहिर आएको हो ।
यसले तत्काल नयाँ जेनेरेशन ल्याण्ड क्रुजर एलसी २०० नआउने भएको अनुमान गर्न सकिन्छ । अहिले बिक्री वितरण भइरहेको ल्याण्ड क्रुजर सन् २००७ मा आएको मोडल हो । यसलाई कम्पनीले २०१९ मा केही परिमार्जन गरेको थियो भने २०२१ मा पनि यसको परिमार्जन हुने भएको हो ।
टोयोटाले सन् २०१९ मा ल्याण्डक्रुजर हेरिटेज एडिसन सार्वजनिक गरेको थियो । कम्पनीले ल्याउन लागेको ल्याण्ड क्रुजरमा थप क्रोम फिनिसिङ दिइएको छ । ग्रिलमा थप परिमार्जन, ट्वीक्ड हेडल्याम्प, अगाडि र पछाडिको बम्परमा परिमार्जन भएको देख्न सकिन्छ । साथै नयाँ अलोय ह्वील र अन्य केही पार्टसमा परिमार्जन हुनेछ ।

साथै, कम्पनीले यसको इन्टेरियरमा पनि परिमार्जन भएको बुझिएको छ । यसमा ठूलो साइजको इन्फोटेन्टमेन्ट सिस्टम र फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर प्रदान गरिएको छ ।
नयाँ जेनेरेशन ल्याण्ड क्रुजरमा भी८ इन्जिन नदिने खबर बाहिर आएको थियो । तर, फेसलिफ्ट मोडलमा भने भी८ इन्जिन नै प्रदान गरिएको छ । उक्त इन्जिनले ३०४ हर्स पावर प्रदान गर्छ भने ४३९ एनएम टर्क प्रदान गर्ने छ ।
नेपालमा पनि ल्याण्ड क्रुजर एलसी २०० बिक्री वितरण गरिरहेको छ । यदि यसको फेसलिफ्ट मोडल आउने हो भने यी गाडी नेपाल पनि आउन सक्ने छन् ।


