अब कुनैपनि कामको लागि सडक भत्काउन नपाइने, अटेर गरे कारवाही

काठमाडौं । जुनसुकै समयमा पनि जथाभावि सडक खन्ने चलन बढ्न थालेपछि सरकारले सडक भत्काउन प्रतिबन्ध लगाएको छ। सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले कुनै पनि बहानामा सडक खन्न नपाइने जनाएको हो ।

अहिले धारा, बिजुली, ढल तथा टेलिफोनलगायतको काम गर्ने भन्दै सडक जुनसुकै समयमा खन्न थालिएको भन्दै कम्तीमा वर्षयाममा यस्ता सडक खन्न रोक लगाइएको हो ।

वर्षायाममा यसरी सडक खन्दा तत्कालै मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रिँदै जाने भएकाले असार १ गतेदेखि भदौ मसान्तसम्मका लागि कार्यालय अन्तर्गतका सडक डिभिजनहरु मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने जनाइएको छ ।

कोही कसैले यस अवधिमा जबर्जस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन अनुसार कडा कारवाही गरिने कार्यालयले जनाएको छ ।


Back_to_top