२३ लाख मूल्यसम्मका दुई नयाँ कार नेपाल आउदै, यस्ता छन् भिन्नता

काठमाडौं । कम मूल्य र उत्कृष्ट डिजाइन भएका गाडी ग्राहकको रोजाईमा पर्ने गरेको छ । नेपाल जस्तो सवारीसाधनमा उच्च कर लगाईएको देशमा सामान्य गाडी किन्नपनि २० लाखभन्दा बढी मूल्य तिर्नु पर्ने हुन्छ ।

यस्तोमा नेपाल आउने क्रममा रहेका दुई फेसलिफ्ट मोडलमा धेरै मानिसको चासो रहेको पाइन्छ । एड्भान्स अटोमोवाइलले नेपाल ल्याइरहेको फ्रेन्च कार निमर्माताको रेनो क्वीड र पायोनियर मोटोकर्पले ल्याएको जापानी कार निर्माता डाट्सनको रेडी गो फेसलिफ्ट नेपाल आउने क्रममा रहेका छन् ।

यी दुबै मोडल नेपाली बजारमा सफल मोडलमा पर्छन् । रेनो क्वीड मूल्यका हिसावले रेडी गोको तुलनामा एकलाख रुपैयाँ हाराहारीले महंगो रहेको छ । यी दुबै कार ०.८ लिटर र १.० लिटर इन्जिनमा आउने भएपनि पछिल्लो दिन रेनोले ०.८ लिटर इन्जिनयुक्त गाडी नेपाली बजारमा ल्याएको छैन भने रेडी गोका दुबै अप्सन उपलब्ध रहेको छ ।

यी दुबै कारको १.० लिटर इन्जिन भेरियन्टको तुलनात्मक भिन्नता यहाँ प्रस्तुत गरेका छौं ।

१. एउटै प्ल्याटफर्मः यी दुबै गाडी एउटै प्ल्याटफर्ममा तयार भएका हुन् । भारतमा यी दुबै गाडी एउटै प्लान्टमा उत्पादन हुन्छन् । विश्वभर रेनो–निसानको बीचमा एलायन्स निर्माण भएर कार उत्पादन भइरहेको छ । निसान मोटर्सको कम मूल्यका गाडी बनाउने ब्राण्डको रुपमा डाट्सन रहेको छ ।

२. साइजः यी दुई कारको साइजमा भने भिन्नता रहेको छ । रेनो क्वीड निकै लामो छ भने रेडी गो छोटो रहेको छ । क्वीडको लम्बाई ३७३१ एमएम रहेको छ भने रेडी गो ३४३५ एमएम लामो छ । चौडाई दुबै गाडीको लगभग उस्तै छ ।

त्यसैगरि उचाईमा रेडी गो अग्लो रहेको छ । रेडी गोको उचाई १५४६ एमएम रहेको छ भने क्वीडको उचाई १४७४ एमएम मात्रै रहेको छ ।

ह्वील वेसको कुरागर्दा क्विडमा राम्रो पाउन सकिन्छ । क्वीडको ह्वील वेस २४२२ एमएम र रेडी गोको २३४८ एमएम रहेको छ । बुट स्पेशपनि क्विडमा नै धेरै रहेको छ ।

एक्स्टेरियर

क्वीड र रेडी गो दुबैको अगाडिको भागमा पहिलेको तुलनामा परिमार्जन गरिएको छ । नयाँ ह्वील क्याप र एलइडी टेल ल्याम्प दुबैले दिएका छन् । यसअघिको मोडलमा यी फिचर थिएनन् ।

रेनो क्वीडमा स्पीट हेडल्याम्प दिइएको छ जसले पहिलेको तुलनामा निकै राम्रो देखिएको छ । झट्ट हेर्दा एसयूभी जस्तै देखिने क्वीड पहिले भन्दा स्टाइलिस देखिएको छ ।

रेडी गो भने क्रसओभर डिजाइनमा उपलब्ध भएको छ । टलव्वय डिजाइमा आएको रेडी गोमा अक्टागोनल ग्रिलको प्रयोग गरिएको छ । यसमा रहेको एलसेप डे टाइम रनिङ लाइट र एलइडी फग ल्याम्प अहिलेको मुख्य परिमार्जन हो ।

इन्टेरियर

दुबै गाडीको फेसलिफ्ट मोडल भएकाले कम्पनीले यसको इनटेरियरमा पनि केही परिमार्जन गर्न कोशिष गरेको छ । रेनोले क्वीडमा फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिएको छ भने रेडी गोमा ८ इन्चको इन्टरटेन्टमेन्ट सिस्टम दिएको छ । साथै ड्यासबोर्डमा सिल्भर कलर फिनिसिङ दिएको छ ।

इन्जिन

एउटै इन्जिन दुबै कारमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.० लिटर इन्जिनले ५५०० आरपीएममा ६८ पीएस पावर र ४२५० आरपीएममा ९१ एनएम टर्क प्रदान गर्ने छ । यी दुबै कार बीएस ६ इन्जिनमा नेपाल आउने छन् ।

माइलेज र ग्राउन्ड क्लियरेन्स

यी दुबै कार उच्च ग्राउन्ड क्लियरेन्स भएका ह्याचव्याक कार हुन् । रेनो क्वीडमा १८४ एमएम र रेडी गोमा १८७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीको दाबी छ । लगभग समान माइलेज दिने यी गाडीले हाइवेमा २२ किमिसम्म र सहरी क्षेत्रमा १८ किमि माइलेज दिने जनाइएको छ ।

मूल्य

अहिले बिक्री भइरहेको मोडलको तुलनामा खासै मूलय परिवर्तन नहुने अनुमान गरिएको छ । अहिले क्वीडको मूल्य २३ लाख ५० हजार हाराहारीमा रहेको छ भने रेडी गोको मूल्य २२ लाख हाराहारीमा रहेको छ । यही मूल्यमा यी गाडी आउन सक्ने देखिएको छ ।

कहिले आउँछ नेपाल ?

दुबै कार आगामी दशैं अगाडि नै नेपाली बजारमा बिक्री सुरु हुने देखिएको छ । यद्यपी रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोवाइलका अनुसार लकडाउन सकिएर जनजिवन सुचारु हुनासाथ क्वीड फेसलिफ्ट नेपाल आउने छ ।

त्यस्तै रेडी गो फेसलिफ्ट भारतमा सावृजनिक भएको केही दिन मात्र भएकाले अबको दुई महिना भित्र नेपाल आउने कम्पनी स्रोतले जनाएको छ ।


Back_to_top