रोजगारी हुनेले पैसा नभएपनि मोटरसाइकल किन्न सक्ने

काठमाडौं । लकडाउनको कारण घरमा रहेका मानिसलाई काममा फर्कन कठिन हुने अवस्था सृजना भएको छ । यसलाई मोटरसाइकल बिक्रेता कम्पनीहरुले अवसरको रुपमा लिन खोजेका छन् ।

अहिले नगद रकम नभएका तर कुनैपनि संगठित क्षेत्रमा रोजगारी भएका मानिसलाई मोटरसाइकल तथा स्कुटर खदिगर्न सहज होस् भनेर विभिन्न कम्पनीले नयाँ अफर ल्याउन सुरु गरेका छन् ।

‘अहिले मानिसलाई तत्काल चाहिएको फाइनान्सीयल सोलुसन हो । काम गर्न थालेको केही समयपछि उनिहरुले पहिले जस्तै किस्ता तिर्न सक्ने छन् । त्यसैले अहिले सबै कम्पनीले यस्ता प्लानहरु बनाइ रहेका छन्’, एक दुई पाङ्ग्रे सवारीसाधन बिक्रेता कम्पनीका संचालकले मेरोअटोसँग भने ।

लकडाउन कै बीचमा होन्डा र बजाजले आफ्नो स्कीम बाहिर ल्याईसकेका छन् । त्यसमा बजाजले ठूलो रकम नगद छुटसहितको योजना अगाडि सारेको छ भने होन्डाले ३ वर्षसम्ममा किस्ता तिर्नेगरि मोटरसाइकल उपलब्ध गराउने जनाएको छ ।

होन्डाले १ रुपैया मासिक किस्ता, १ रुपैयाँ डाउन पेमेन्ट र १ प्रतिशत व्याजदरको अफर गरेको छ भने बजाजले १२ हजारसम्म डिस्काउन्ट वा २० प्रतिशत डाउन पेमेन्ट वा सून्य प्रतिशत व्याजदरको अफर गरेको हो ।

अहिले यी दुई बाहेक अन्य कम्पनीले अफर सार्वजनिक गरेका छैनन् । तर, सबै कम्पनी आन्तरिक तयारीमा भने जुटेका छन् ।

‘हामी आन्तरिक तयारी गरिरहेका छौं । अहिले मानिसलाई चाहिएको फाइनान्सीयल स्कीम नै हो । त्यसमा कसरी उत्कृष्ट अफर गर्न सकिन्छ भनेर वोर्क आउट चलिरहेको छ’, टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सका भाइस प्रसिडेन्ट दिपक अग्रवालले भने ।

यस्तै बुझाई छ हिरो मोटरसाइकलको अधिकारीक बिक्रेता एनजीएम नेपालको पनि । कम्पनीका चेयरम्यान अभिक ज्योति भन्छन्, ‘अहिले लकडाउन नै यस्तोमा कुनैपनि अफर ल्याएर केही फाइदा छैन । हामी लकडाउन सकिएपछि के गर्ने भन्ने विषयमा तयारी गरिरहेका छौं ।’

यी कम्पनीको अलावा यामाहा, सुजुकी लगायतका ब्राण्डले पनि आन्तरिक तयारी भइरहेको जनाएका छन् । सबै कम्पनीले लकडाउन चालु रहेको समयमा कस्ता अफर ल्याउने भन्दापनि लकडाउन पछि कस्तो अफर दिने भन्ने विषयमा आफुहरु तयारी गरिरहेको जनाएका छन् ।


Back_to_top