आक्रमक बन्दै लीपमोटर, गर्यो १५ लाख गाडी डेलिभरी

काठमाडौं । चिनियाँ स्टार्टअप लीपमोटर व्यवसाय विस्तारमा आक्रमक बनेको छ । युरोपियन ब्राण्ड स्टेलान्टिसको प्रवेशसँगै कम्पनीले विश्व बजारमा आफ्ना प्रभाव बढाउँदै लगेको हो ।

कम्पनीले विश्वभर १५ लाख युनिट गाडी डेलिभरीको माइलस्टोन पूरा गरेको हो । सन् २०१९ देखि गाडी बिक्री थालेको लीपमोटरले ७ वर्षमा १५ लाख युनिट पूरा गरेको हो ।

लीपमोटरको कार बिक्री पछिल्लो समय तीव्र गतिमा वृद्धि भएको छ । कम्पनीलाई पहिलो ५ लाख कार डेलिभरी गर्न ६४ महिना (अक्टोबर २०२४) लागेको थियो । त्यसपछिको २० महिनामै कम्पनीले थप १० लाख गाडी बेच्न सफल भएको हो । कम्पनीले दोस्रो ५ लाख डेलिभरी १२ महिना (अक्टोबर २०२५) र तेस्रो ५ लाख कार केबल ८ महिनामै बिक्री गरेको हो ।

सन् २०२६ मा झनै आक्रमक बनेको छ । कम्पनीले मे २०२६ मा मात्रै विश्वभर ८१ हजार ५६९ युनिट गाडी डेलिभरी गरेर नयाँ मासिक रेकर्ड बनाएके थियो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८१ प्रतिशतको वृद्धि हो ।

लीपमोटरले सन् २०२६ का लागि विश्वभर १० लाख सवारी साधन डेलिभरी गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ । यस लक्ष्य अन्तर्गत ८ लाख ५० हजारदेखि ९ लाख युनिट चिनियाँ आन्तरिक बजारमा र १ देखि डेढ लाख अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने लक्ष्य राखेको छ ।

कम्पनीले व्यापार बढाउन पुराना मोडल अपडेटसँगै एकपछि अर्को नयाँ मोडलहरू ल्याइरहेको छ । कम्पनीले गत महिना मात्रै बी फाइन (लाफा) मोडल ल्याएको थियो । यही साता मात्रै सी सिरिजका सबै मोडल अपडेट गरेर बजारमा ल्याएको छ ।

लीपमोटर विश्वका ४० भन्दा बढी देश आफ्नो व्यवसाय विस्तार गरिसकेको छ । विश्वव्यापी संजाल भएको कम्पनीले आफ्नो अन्तर्राष्ट्रिय व्यवसायमा नाफा कमाउन सफल भइसकेको छ। विशेष गरी इटालीको प्योर ईभी सेग्मेन्टमा लीपमोटरको बजार हिस्सा ३० प्रतिशतभन्दा बढी छ।

आयात महसुल र ढुवानी लागत कम गर्न लीपमोटरले युरोप दक्षिणपूर्वी एसियामा दोहोरो उत्पादन रणनीतितर्फ पाइला चालिरहेको छ । कम्पनीले युरोमा सन् २०२६ को दोस्रो त्रैमासिकमा आफ्नै कारखानाको निर्माण सुरु गर्ने तालिका छ । त्यस्तै, चौथो त्रैमासिकमा स्टेलान्टिसको स्पेनस्थित प्लाण्टमार्फत स्थानीय रूपमा सीकेडी एसेम्बली सुरु गर्ने योजना छ।

कम्पनीले स्थानीय नियमहरू र चार्जिङ पूर्वाधारका आवश्यकताहरू पूरा गर्न सवारी साधनको कन्फिगरेसनहरू मिलाउँदै दक्षिणपूर्वी एसिया र मध्य पूर्वमा सक्रिय रूपमा आफ्नो बजार विस्तार गरिरहेको छ।

नेपालमा पनि लीपमोटर स्थापित हुने क्रममा छ । सांग्रिला मोटर्सले लीपमोटरका बी १०, सी १० र टी ०३ मोडल बिक्री गर्दै आएको छ ।


Back_to_top