काठमाडौं । लामो समयदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरू भएको छ ।
शुक्रबार बनेपास्थित सुरक्षण मुद्रण केन्द्रमा संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले लाइसेन्स छपाइको शुभारम्भ गरेका हुन् ।
मुद्रण केन्द्रले लाइसेन्स छाप्न थालेको यो पहिलोपटक हो । यसअघि विभागले नै लाइसेन्स छापेर उपलब्ध गराउँदै आएको थियो ।
केन्द्रले पहिलो चरणमा ६ महिना भित्र १२ लाख थान लाइसेन्स छाप्ने भएको हो । गत साता केन्द्र र यातायात व्यवस्था विभाग बीच १२ लाख लाइसेन्स छपाइ सम्बन्धी सम्झौता भएको थियो ।
मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार हाललाई दैनिक ५०० थान लाइसेन्स छापिने छ । विभागले पर्सनलाइज सफ्टवेयर बनाएर उपलब्ध गराएपछि धेरै संख्यामा लाइसेन्स छापिने उनले बताए । आगामी ६ महिना भित्रै १२ लाख लाइसेन्स छापेर विभागलाई उपलब्ध गराउने उनको भनाइ छ ।

लाइसेन्स छपाइको लागि विभागले केन्द्रलाई करिब २७ करोड रुपैयाँ उपलब्ध गराउने छ ।
सञ्चारमन्त्री खरेलले कानुनी उल्झन र विविध कठिनाइका बाबजुद पनि अत्यावश्यक प्रबन्ध मिलाएर लाइसेन्स छपाइ सुरू गरिएको बताए।
उनले ६ महिनाभित्र छाप्न बाँकी सबै लाइसेन्स छापेर सेवाग्राहीहरूलाई वितरण गर्ने योजना रहको बताए छ । उनले लाखौँ सेवाग्राही लाइसेन्स नपाएर कागज बोकेर हिँड्नुपर्ने अवस्थाको अब अन्त्य हुने बताए ।
हाल करिब ३० लाख लाइसेन्स छाप्न बाँकी छ । विगत ४ वर्षदेखि ट्रायल पास गरेका र नवीकरणका लागि आवेदन दिएका सेवाग्राहीले लाइसेन्स पाउन सकेका छैनन् ।

