सीसीएमसीको कारण लाइसेन्सको परिक्षा सुरु भएन, पास गरेकाले पनि अझै ६ महिना कार्ड नपाउने

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल कहिलेबाट खुल्ने भन्ने विषय अझै अन्योलमा परेको छ । लाइसेन्सको परिक्षा र ट्रायल लिने यातायात व्यवस्था विभागले कहिलेबाट लाइसेन्स परिक्षा संचालन गर्न सकिन्छ भनेर कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई पत्र लेखेको भएपनि त्यहाँबाट अझै कुनै जवाफ नआएको विभागले जनाएको छ ।

‘हामीले सीसीएमसीलाई पत्र लेखेका छौं । उताबाट कुनै ठोस उत्तर आएको छैन । सीसीएमसीले उत्तर दिने वित्तिकै निर्देशन अनुसार गर्छौ’, यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुषलले मेरोअटोसँग भने ।

गत बैशाख १६ गतेबाट भएको लकडाउनको कारण रोकिएको लाइसेन्सको लिखित र प्रयोगात्मक परिक्षा अझै संचालन हुन सकेको छैन ।
उता उपत्यका ट्राफिक कार्यालयले सवारी साधन चेक जाँच बढाएको जनाएको छ । अहिले सडकमा भिडभाड बढेसँगै चेक जाँचलाई बढाएको ट्राफिक कार्यालयले जनाएको छ ।

‘ट्राफिक चेक जाँच विशेषत मास्क लगाएको छ वा छैन भन्ने हेर्न गरिएको छ । मास्क नलगाई यात्रु बोक्ने सवारी साधनलाई कारवाही गर्दै आएका छौं । अहिले मोटरसाइकल चोरी बढेकोले विल बुक र लाइसेन्स परिक्षण पनि बढाइएको हो’, उपत्यका ट्राफिक कार्यालयका प्रबक्ता एसपी संजिव शर्मा दासले भने ।

उपत्यकमा लाइसेन्स बीना सवारी साधन चलाउने दिन दिनै बढ्दै गएको सरोकारवालाहरुको भनाई छ । विगत दुई वर्षमा ४ महिना मात्रै लाइसेन्स परिक्षा संचालन भएको छ । नयाँ गाडी र मोटरसाइकलको विक्री राम्रै संख्यामा भएको छ । यस्तोमा लाइसेन्स विना सवारी साधन चलाउने बढेको सहजै अनुमान गर्न सकिन्छ ।

यो विषयले सडक सुरक्षाको हिसावले निकै महत्वपूर्ण रहेकोले चाँडो भन्दा चाँडो अत्यावश्यक सेवामा राखेर लाइसेन्स वितरण व्यवस्था गर्नु पर्ने उनिहरुको भनाई छ ।

लाइसेन्स पास गरेकाले अझै ६ महिना कार्ड नपाउने

यातायात व्यवस्था विभागले गतवर्ष संचालन गरेको लाइसेन्स परिक्षा उत्र्रिण गरेका र नविकरणको लागि राजस्व तिरेर बसेका सेवाग्राहीले अझै ६ महिना लाइसेन्स नपाउने भएका छन् ।

लाइसेन्स प्रिन्ट गर्ने कार्ड नभएको कारण विगत ६ महिनादेखि रोकिएको लाइसेन्स छपाई अझै सुरु हुन नसकेको विभागको भनाई छ ।

‘करिब ७ लाख सेवाग्राहीले कार्ड पाउन बाँकी छ । हामीले नमुना कार्ड फ्रान्सबाट मगाएका छौं । अबको केही दिनमा त्यो नेपाल आउँछ । त्यो कार्ड ठिक भएमा अबको ६ महिनामा सबै सेवाग्राहीलाई कार्ड वितरण गर्न सकिन्छ’, यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुषालले मेरोअटोसँग भने ।


Back_to_top