काठमाडौं । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई क्रेटा ईभीको लङ रेन्ज मोडल नेपाल ल्याएको छ । कम्पनीले ठूलो ब्याट्री र पावरफुल मोटर भएको क्रेटा ईभी नेपाल ल्याएको हो ।
कम्पनीले स्मार्ट (अप्सनल) लङ रेन्ज मोडलको मूल्य ६९ लाख ९६ हजार रुपैयाँ तोकेको छ । जुन मूल्य ४२ किलोवाट आवरको ब्याट्री भएको स्मार्ट (अप्सनल) भेरियन्टको भन्दा १३ लाख रुपैयाँ बढी हो ।
त्यसैगरी, ५१ किलोवाट आवरको ब्याट्री भएको लङ रेन्ज एक्सिलेन्स भेरियन्टको मूल्य ७६ लाख ९६ हजार रुपैयाँ कायम गरिएको छ । यी दुई भेरियन्टमा नै ७ लाख रुपैयाँको अन्तर रहेको छ ।
क्रेटा ईभीमा दुई मोटर अप्सन रहेको छ । सानो ब्याट्रीसँग ९९ किलोवाट क्षमताको मोटर दिइएको छ । जबकि ठूलो ब्याट्रीसँग १२६ किलोवाटको मोटर छ । यी दुईमा पावरसँगै ब्याट्री साइजमा सिधा फरक पाउन सकिन्छ ।
मूल्यमा धेरै फरक किन ?
हुन्डाई क्रेटा ईभीमा ९९ किलोवाट क्षमताको इलेक्ट्री मोटर भएको मोडललाई नेपाल सरकारले ५ प्रतिशत सडक निर्माण दस्तुर, २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क लगाउँदै आएको छ । यी तीन कर बाहेक १३ प्रतिशत भ्याट लाग्ने भयो ।

ठूलो १२६ किलोवाट क्षमताको मोटर भएको मोडलमा पनि सडक निर्माण दस्तुर मूल्यको ५ प्रतिशत, भन्सार ३० प्रतिशत र अन्तःशुल्क २० लाग्छ । यी सबै करपछि १३ प्रतिशत भ्याट लाग्नेछ ।
झण्डै २०/२२ प्रतिशत बढी कर लाग्ने भएको कारण मोटर पावर बढ्दा मूल्यमा १३ लाख रुपैयाँसम्मको अन्तर देखिएको हो ।
क्रेटामा भएका लोभलाग्दा फिचर
क्रेटा ईभीमा दिइएको आई-पेडल ड्राइभिङ टेक्नोलोजी दिइएको छ । यसको प्रयोग आयोनीक फाइभमा सफल भएपछि क्रेटा ईभीमा पनि दिएको हो । आई-पेडलमा एक्सिलेटर थिच्दा मात्रै ईभी गुडाउन सकिन्छ । यसमा एक्सिलेटर थिचेपछि गाडी अगाडि बढ्छ भने, एक्सिलेटर छोड्दा रिजेनेरेटिभ ब्रेकिङको मद्दतले गाडी रोकिन्छ । गाडी रोक्न ब्रेक थिचिरहनु पर्दैन । यो फिचरको प्रयोग सहरी क्षेत्रमा निकै उपयोगी मानिन्छ ।
बाइ-डाइरेक्सनल चार्जिङको लागि पनि क्रेटा परिचत छ । यसमा रहेको भेहिकल टु लोड फङ्सनको सहायताले गाडीलाई मुभएबल जेनेरेटरको रूपमा समेत प्रयोग गर्न सकिन्छ ।
हुन्डाईले क्रेटा ईभीमा एक्टीभ एयर फ्ल्याप दिएको छ । फ्रन्ट बम्परमा दिइएको एक्टीभ एयर फ्ल्यापले गाडीलाई पूर्णत क्लोजअफ देखाएको छ । एयर फ्ल्यापले क्रेटा ईभीलाई हाइटेक लुक दिनुको साथै इनर्जी इफिसियन्सी बनाउन सहयोग गरेको छ ।
क्रेटा ईभीमा लेबल-२ एड्भान्स ड्राइभर असिस्ट सिस्टम रहेको छ । यसले गाडीको आसपास आउने सम्भावित दुर्घटनाका वस्तु पहिचान गर्दै चालकलाई सूचित गर्छ ।
गियर बदल्न कोलुम माउण्टेड सिफ्ट वाइ वायर प्रयोग गरिएको छ । यसले पुरानो गियरनबलाई रिप्लेस गरेको हो । गियर लिभर मै पार्किङ ब्रेक समेत पाउन सकिन्छ ।
अहिलेको मोर्डन भेहिकलहरूमा हुने अनिवार्य फिचरको रूपमा भेन्टिलेटेड सिट पनि एक हो । भेन्टिलेटेड सिटको सहायताले विशेषतः गर्मीको समयमा सिटमा बसिरहँदा आउने पसिनाबाट मुक्त हुन सकिन्छ । अगाडिको दुवै सिटमा यो फङ्सन दिएकाले क्रेटा ईभीमा पसिना पसिना भएर यात्रा गर्नु पर्दैन ।
क्रेटा ईभी फिचर लोडेड मोडल हो । हुन्डाईले क्रेटा ईभीमा अमेरिकी कम्पनी बोसको ८ वटा स्पीकर सहितको प्रिमियम साउण्ड सिस्टम दिएको छ ।

