भारतले वैद्यनाथधाम-पशुपतिनाथ जोड्ने द्रुतमार्ग बनाउने

सांकेतिक तस्बिर ।

काठमाडौं । छिमेकी मुललुक भारतले नेपालको धार्मिक गन्तव्य जोड्ने नयाँ उच्च गतिको सडक करिडोर बनाउने भएको ।

भारतले झारखण्डको बैजनाथधामबाट नेपालको पशुपतिनाथ जोड्ने ‘पशुपतिनाथ-वैद्यनाथधाम हाइ स्पीड करिडोर’ निर्माण गर्ने भएको हो ।

मंगलबार बिहारका सडक निर्माण मन्त्री डा. दिलीप जैसवालले गत विधानसभामा उक्त करिडोर निर्माण गर्ने जानकारी दिएका हुन् ।उनले आर्थिक वर्ष २०२६/२७ को लागि सडक निर्माण विभागको ८२ अर्ब ६० करोड भारतीय रुपैयाँभन्दा बढीको बजेट सभामा प्रस्तुत गरेका हुन् ।

‘प्रस्तावित करिडोर पशुपतिनाथ-वैद्यनाथ हाइ स्पीड करिडोर काठमाडौंबाट सुरू हुनेछ । भीमनगर, वीरपुरहुँदै बिहारको सुपौल जिल्लामा प्रवेश गर्नेछ । त्यसपछि मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका जिल्ला हुँदै झारखण्डको देवघर जिल्लास्थित वैद्यनाथ धामसम्म पुग्नेछ,’ उनले भनेका छन् ।

प्रस्तावित सडक करिडोरको कुल लम्बाइ करिब २५० किलोमिटर हुनेछ । यो सडक बनेपछि करिब ३ घण्टामै वैद्यनाथबाट पशुपतिनाथ आउन सकिने छ । यस करिडोरमा पैदल यात्रीका लागि विशेष ‘सर्भिस रोड’ समेत बनाउने योजना छ । जसले नांगो खुट्टा हिँड्ने श्रद्धालुहरूलाई सहज हुनेछ ।

भारत सरकाले उक्त सडक निर्माणको प्रस्ताव स्वीकृत समेत गरेको छ । साथै, नयाँ करिडोर निर्माणका लागि प्रशासनलाई आवश्यक तयारी सुरू गर्न निर्देशन समेत दिएको छ ।

यो करिडोर बनेपछि वैद्यनाथधाम र पशुपतिनाथ आउजाउ गर्ने तिर्थयात्रीलाई सहज हुनेछ । दुवै देशमा धार्मिक पर्यटक बढ्ने विश्वास गरिएको छ । साथै, बिहार, नेपाल र झारखण्ड बीचको व्यापारिक र आर्थिक सम्बन्धलाई पनि नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।

त्यस्तै, भारतले नेपालका सीमावर्ती ७ जिल्लाहरूमा ५५४ किलोमिटर सडक निर्माण गरिरहेका छ । मन्त्री जैसवाल भारत-नेपाल सीमा सडक परियोजना अन्तर्गत बिहारमा ५५४.०८ किलोमिटरको कुल लम्बाइमा सडक निर्माण कार्य भइरहेको जानकारी दिए ।

उनका अनुसार सीमावर्ती जिल्लाहरू पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगंज हुँदै जाने सडक निर्माण भइरहेको छ । यो मार्ग पश्चिम चम्पारणको मदनपुरबाट सुरू भएर किशनगंज जिल्लाको गलगलियामा समाप्त हुनेछ ।


Back_to_top