जीप र्‍याङलर भारतमा उत्पादन हुने, नेपालमा मूल्य घट्न सक्ने

काठमाडौं । जीपको चर्चित अफ रोड एसयूभी र्‍याङलर भारतमा एसेम्बल हुने भएको छ । जीपले र्‍याङलर र ग्राण्ड चेरोकी भारतमा एसेम्बल गरेर विक्री सुरु गर्न लागेको हो ।

जीप इन्डियाले यसअघि भारतमा कम्पासको उत्पादन गर्दै आएको थियो भने र्‍याङलर र ग्राण्ड चेरोकी पूर्णत आयात गर्दै आएको थियो । अब भारतमा नै एसेम्बल हुने भएपछि भारतमा यसको मूल्य केहि घट्ने भएको छ । मार्च १५, २०२१ मा भारतमा एसेम्बल हुने र्‍याङलर सार्वजनिक हुने जनाइएको छ ।

अहिले नेपालमा विक्री वितरण भइरहेको जीप र्‍याङलर र ग्राण्ड चेरोकी अमेरिकाबाट आयात हुँदै आएको छ । भारतमा एसेम्बल हुने गाडी नेपाल आउने वा नआउने विषयमा अहिले कुनै जानकारी प्राप्त भएको छैन । यदि भारतमा एसेम्बल यूनिट नेपाल आउने हो भने यसको मूल्य कम्तीमा ३ देखि ५ प्रतिशत कम हुनेछ ।

लाइफ अटोमोवाइलले अमेरिकामा बनेको र्‍याङलर अनलिमिटेड सहाराको नेपालमा २ करोढ ३९ लाख ९० हजार, अनलिमिटेड रुबीकनको २ करोड ६३ लाख ४० हजार र र्‍याङलर रुबीकनको २ करोड ५७ लाख ९० हजार रुपैयाँ मूल्य तोकेर विक्री गर्दै आएको छ ।

भारतबाट आयात हुने सवारी साधनको भन्सार अन्य देशबाट आयात हुनेभन्दा २.५ प्रतिशत कम लाग्ने व्यवस्था रहेको छ भने आयात गर्दा लाग्ने भाडा समेत निकै कम हुन्छ । त्यसले यसको मूल्यमा कमी आउने छ ।

जीप र्‍याङलरमा २.० लिटर फोर सिलिण्डर टर्बो इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम २६५ बीएच पावर र ४०० एनएम टर्क प्रदान गर्नेछ । यसमा ८ स्पीड गियरबक्स उपलब्ध रहने छ । फोर ह्वील ड्राइभ सिस्टमा जीप र्याङलर भारतमा एसेम्बल हुनेछ ।

ग्राण्ड चेरोकी भने २०२२ को सुरुवातमा मात्रै भारतमा एसेम्बल हुने जनाइएको छ ।


Back_to_top