काठमाडौं । रोयल इन्फिल्डले क्लासिक ३५० मोटरसाइकल सेग्मेन्टमा नयाँ एडिसन सार्वजनिक गर्ने भएको छ ।
कम्पनीले भारतमा आफ्नो लोकप्रिय मोटरसाइकल क्लासिक ३५० को नयाँ विशेष संस्करण ‘गोर्खा एडिसन’ मंगलबार (अगष्ट १८)मा लन्च गर्ने तयारी थालेको हो ।
कम्पनीले सार्वजनिक गर्नु अघि नै यो मोटरसाइकल डिलरहरूमा पुग्न थालिसकेका छन् । नयाँ गोर्खा एडिसनमा नियमित क्लासिक ३५० को तुलनामा ठूलो डिजाइन परिवर्तन गरिएको छैन । यसको बडी प्यानल, साइकल पाट्र्स, उपकरण तथा समग्र डिजाइन नियमित मोडलसँगै समान रहनेछ । विशेष संस्करणलाई मुख्यतः नयाँ कलर र गोर्खा एडिसनका लागि तयार पारिएका ग्राफिक्समार्फत फरक बनाइएको देखिन्छ ।
गोर्खा एडिसनको सबैभन्दा ठूलो आकर्षण यसको नयाँ लाइट मिलिटरी (ओलिभ) ग्रीन कलर हो । सैनिक सवारीसाधनमा देखिने हरियो रंगसँग मिल्दोजुल्दो यो कलरले मोटरसाइकललाई विशेष सैन्य लुक प्रदान गरेको छ ।
यो रंग गोर्खा रेजिमेन्टसँग जोडिएको पहिचानलाई समेत झल्काउने गरी तयार पारिएको देखिन्छ । यसका साथै साइड प्यानलमा गोर्खा एडिसन विशेष ग्राफिक्स र क्रस्ड खुकुरीको मोटिफ सहित गोर्खा एडिसनको ब्रान्डिङ राखिएको छ ।
गोर्खा एडिसनमा नियमित क्लासिक ३५० कै ३४९ सीसी, सिंगल-सिलिण्डर, एयर र आयल कुल्ड, जे सिरिज इन्जिन प्रयोग हुनेछ । उक्त इन्जिनले २०.२ बीएचपी पावर र २७ एनएम टर्क उत्पादन गर्छ । इन्जिनलाई ५-स्पीड गियरबक्ससँग जोडिएको छ ।
भारतीय सेनाका प्रतिष्ठित गोर्खा रेजिमेन्टप्रति सम्मानस्वरूप ल्याइएको क्लासिक ३५० मा सेमी-डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रयोग गरिएको छ । यसमा एनालग स्पिडोमिटर र एलसीडी डिस्प्ले उपलब्ध हुनेछ ।
मोटरसाइकलमा वायर-स्पोक ह्वील, दुई टुक्राको राइडर तथा पिलियन सिट, राउण्ड मिरर, क्रोम एग्जस्ट र क्रोम हेडलाइट बेजेल जस्ता क्लासिक ३५० का परिचित डिजाइन एलिमेन्टहरू निरन्तरता दिइएको छ ।
यसमा ट्रिपर नेभिगेसन पोड भने देखिएको छैन । रोयल इन्फिल्डले हालै क्लासिक ३५० का डुअल-च्यानल एबीएस भेरियन्टमा असिस्ट, स्लिपर क्लच र यूएसबी टाइप-सी फास्ट चार्जिङ पोर्ट थपेको थियो । गोर्खा एडिसनमा पनि यी फिचर उपलब्ध हुने अपेक्षा गरिएको छ ।


