काठमाडौं । चेरी र ज्यागुआर ल्याण्ड रोभरको सहकार्यमा बनेको फ्रिल्याण्डर ब्राण्डको पहिलो एसयूभी ‘फ्रिल्याण्डर ८’ सार्वजनिक भएको छ ।
कम्पनीले चीनमा फ्रिल्याण्डरको सुरूआती मूल्य ५० हजार अमेरिकी डलर (करिब ७० लाख रुपैयाँ) तोकेर प्रि सेल सुरू गरेको हो ।
कम्पनीले फ्रिल्याण्डर चार भेरियन्टमा उपलब्ध गराएको छ । यी बाहेक १,००० युनिटमा मात्र सीमित ‘फस्र्ट एडिसन’ पनि सार्वजनिक गरेको छ । जसको मूल्य ६७ हजार ६०० अमेरिकी डलर तोकेको छ ।
प्रिमियम अफरोड एसयूभीको रुपमा बजारमा आएको फ्रिल्याण्डर टिज सार्वजनिक भएदेखि नै विश्वभर चर्चामा छ । बोल्ड डिजाइन, आधुनिक फिचर, प्रिमियम सुविधाले यो एसयूभीले सबैको ध्यान तानेको हो ।
फ्रिल्याण्डर ८ को लम्बाइ ५,११८ एमएम (अप्सन ५१८५ एमएम), चौडाइ २,०५० एमएम, उचाइ १,८९८ एमएम छ । यसमा ३,०४० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।
८०० भोल्टको हाइ भोल्टेज प्लेटफर्ममा बनेको यो एसयूभीमा सीएटीएलसँगको साझेदारीमा विकास गरिएको विशेष अल टेरेन फ्रीभोय रेन्ज एक्सटेण्डर हाइब्रिड ब्याट्री प्रयोग गरिएको छ । साथै, हुवावेले विकास गरेको आइ एटीएस इन्टेलिजेन्ट अल टेरेन सिस्टम पनि रहेको छ ।

फ्रिल्याण्डर ८ का सबै मोडलहरूमा हुवावेको छियानकुन एडीएस ५.० इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम छ । यसमा सबैभन्दा पछिल्लो पुस्ताको ‘क्वालकम स्न्यापड्रैगन ८३९७’ अटोमोटिभ ग्रेड चिप प्रयोग गरिएको छ । यो नयाँ चीपले सीपीयूको प्रदर्शन तीन गुणा सुधार गर्ने, जीपीयूको प्रदर्शन पनि तीन गुणा र एआई कम्प्यूटिङ क्षमता १२ गुणाले बढाएको दाबी कम्पनीले गरेको छ ।यो चिप प्रयोग गर्ने फ्रिल्याण्डर विश्वकै पहिलो गाडी समेत हो ।
फ्रिल्याण्डर ८ प्योर इलेक्ट्रीक र हाइब्रिड दुवै भर्सनमा उपलब्ध छ । यसको हाइब्रिड भर्सनमा ईएनसी एक्टिभ नोइज रिडक्सन भएको १.५ लिटर टर्बो फोर सिलिण्डर इन्जिन छ । साथै, ६०.३ कलिोवाट आवरको क्षमताको सीएटीएलको फ्रिभोय टर्नरी लिथियम ब्याट्री छ । जसले ३१० किमीको प्योर इलेक्ट्रीक रेन्ज दिन्छ ।
यसको इलेक्ट्रीक भर्सनमा अधिकतम ६१० किलोवाट आवरसम्म पावर दिने डुअल मोटर फोर ह्वील ड्राइभ सिस्टम छ । जसले ८१३ न्युटनको पिक टर्क उत्पन्न गर्छ । शक्तिशाली मोटर भएकै कारण यो एसयूभीले केबल ४.६ सेकेण्डमै ० देखि १०० किमी प्रतिघण्टाको स्पीड भेटाउन सक्छ ।
यसको क्याबिन निकै फराकिलो र लग्जरी छ । चालकका लागि ‘कमाण्डर’ सिट र अगाडिको यात्रुका लागि फस्र्ट क्लास सुविधासहितको ‘एलएडीवाई’ सिट राखिएको छ।
अगाडिको यात्रुका लागि विशेष अरामदायी सिट दिइएको छ । जहाँ १,२०० एमएमको लेगरुम उपलब्ध छ । उक्त सिटमा ६ फिट ३ इन्चसम्म उचाइ भएका यात्रुहरूले पनि हवाईजहाजको फस्र्ट क्लास क्याबिनमा जस्तै आरामसँग खुट्टा तन्काएर यात्रा गर्न सक्छन् । यस क्षेत्रमा छुट्टै स्टोरेज, विशेष बेलायती सुगन्ध (फ्रेग्रेन्स) र हावा प्रवाह मिलाउने क्लाइमेट कन्ट्रोल जडान गरिएको छ।
फ्रिल्याण्डर ८ भित्रका भौतिक बटनहरूमा विश्वप्रसिद्ध स्विस घडीहरूमा प्रयोग गरिने ‘क्लु डे पेरिस’ बुट्टा कुँदिएको छ । गाडीको भित्री भागमा ‘अप्टिकल ग्रेड डुअल फ्लोटिङ क्रिस्टल’ नबहरू पनि छन् । जुन १४४ वटा कोणमा काटिएको के ९ अप्टिकल क्रिस्टलबाट बनेका छन् । यसमा २५६ रङको डुअल रिङ एम्बियन्ट लाइटिङ जडान गरिएको छ।
यसको ड्यासबोर्ड ‘टी आकारको ब्रिज’ लेआउटमा आधारित छ । जसमा कुराकानी र फंसन संचालनलाई सजिलो बनाउन ४६.३ इन्चको ८ के प्यानोरामिक रिमोट डिस्प्ले र १५.६ इन्चको एलईडी सेन्ट्रल कन्ट्रोल स्क्रीनलाई सँगै जोडिएको छ।


